काठमाडौं,
जेठ ३० ।
काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।
जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित थप एक साता बढाउने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार निर्णय गरेको हो ।
वैशाख १६ गतेदेखि पटक पटकगरी लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुनः एक साता थप गरेको हो । अबको निषेधाज्ञामा केही परिमार्जन समेत भएको छ ।
संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिनेछ। पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिइने छ । कृषि क्षेत्रको कामका लागि पनि सहजीकरण गरिने छ ।
विदेश जानेहरूका लागि भिषाको काममा पनि सजिलो गरिने बताइएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।
बैठकमा यातायात सञ्चालनसम्बन्धी कुनै छलफल गरिएको छैन । यसअघि जेठ मसान्तपछि जोर विजोर प्रणालीमा सवारी चलाउने भन्ने भनिए पनि तत्काललाई यस विषयमा सिडिओहरुको कुरा नभएको बताइएको छ ।







