गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित पाँच मन्त्रीले लिए शपथ

पोखरा,
जेठ २९ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीले शनिबार राति शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरूमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) हुनुहुन्छ । मन्त्रीहरूले विनाविभागीय रुपमा शपथ लिनुभएको छ ।

गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालीलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, राजमो, जसपा र एक स्वतन्त्र सांसदले समर्थन जनाएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार