इटहरी,
जेठ २६ ।
सुनसरी सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एलबम बजारमा ल्याउनुभएको थियो । त्यही एल्बमको शीर्ष गीतको रिमेक गरी अहिले नयाँ भर्सनमा सार्वजनिक गरिएको छ ।
उमेशको शब्द र सङ्गीत रहेको रिमेक भर्सनमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । गीतमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको वर्णनसँगै माया-प्रेमका भावना व्यक्त गरिएको छ । गीतमा महाराज थापाको एरेञ्ज छ ।
गायक रामकृष्ण र अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा अभिनित भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरूको दृश्य समवेश गरिएको छ ।
युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ । गोत्र इन्टरटेनमेन्ट च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।






