काठमाडौं,
जेठ १८ ।
विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उहाँको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी गराउनुभयो ।
विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापालाई केहीदिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि जेठ १४ मा मेडिसिटी पुर्याएर उहाँको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गर्नुभएका उहाँ खगोल तथा भौतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका जानुभएको थियो ।






