काठमाडौं,
जेठ १४ ।
अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित चलचित्र ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । चलचित्र यही मे २९ अर्थात भोलि अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुन लागेको हो ।
लागुऔषध र अपराधको कथा समेटिएको चलचित्रमा प्रनिषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकी कलाकारको अभिनय छ ।
सुमन पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ । यो टिमले सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको छ ।
यस चलचित्रलाई दर्शकले मन पराउनेमा आफू आशावादी रहेको निर्देशक पौडेलले बताउनुभयो । चितवन निवासी पौडेल केही वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आउनुभएको छ ।
दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रलाई साजन कार्कीले सम्पादन गर्नुभएको छ । यस चलचित्रलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।






