काठमाडौं उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाई

काठमाडौं,
जेठ १४ ।

काठमाडौँ उपत्यकामा कोभिड-१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा आजदेखि थप कडाई गर्ने भएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई आजदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ ।

यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन् ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।

विवाह, व्रतबन्ध होटल तथा पार्टीप्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

यसमा तपाइको मत

अन्य समाचार