समयमै पूर्व तयारी नगर्दा भयावह परिस्थिती

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख ३० ।

देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । जति संक्रमित बढ्दै छन् उति अस्पतालहरूमा बेड पाउन ‘महाभारत’ भइरहेको छ। बिरामीहरूले अक्सिजनको चर्को अभाव झेलिरहेका छन् । आईसीयू र भेन्टिलेटर सेवा सहज रूपमा पाउन सक्ने अवस्था छैन । कतिपय अस्पतालमा भेन्टिलेटर भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन् । अक्सिजन दिइरहेको बिरामी अक्सिजनको अभावमा मृत्यु भएका समाचार आउँछन । स्थिति यति भयावह छ कि कोही बिरामी निको भए या मृत्यु भए मात्रै अर्कोले पालो पाउँछन् । यो भन्दा दुखद् कुरा अरु के हुन सक्छ ?

सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिङ्गो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरू सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन् । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्नेतर्फ दल र तिनका नेताहरूको ध्यान गए हुन्थ्यो भन्ने आमनागरिकको अपेक्षा हो । तर, नेताहरू पटक्कै यतातिर ध्यान दिएका छैनन् । आज रवी लामिछाने जस्ता सञ्चारकर्मीले अक्सिजनको जोह गरिरहेका छन् । समस्यामा परेका मान्छेहरूलाई सहयोग गरिरहेका छन् ।

मैले हिजो एउटा भिडियो देखे । रवी लामीछाने र सरकारका एकजना मन्त्री बीचको सवाल जवाफ थियो त्यहाँ । बडो अचम्म लाग्यो । रवी भन्छन्- ‘मन्त्री ज्यू एउटा अक्सिजनको सिलिन्डर ल्याएर देखाउनु होस् त ।’ फेरि भन्छन्, ‘एउटा अक्सिजनको सिलिण्डर ल्याएर देखाउनुहोस् त ।’ मन्त्री टवा मात्र पर्छन ल्याएर देखाउँछु भन्नसमेत सकेनन् । यो मेरो देशको कस्तो बिडम्वना हो । आज अक्सिजनको अभावमा कति नागरिकले ज्यान गुमाईरहेका छन् । सवै नागरिक जुटेर यो भयावह परिस्थितीको सामना गर्नुपर्ने अवस्था आएको छ । निषेधाज्ञाको मौका छोपेर कालोवजारी मौलाउँदै गएको छ । सरकारले त्यसको प्रभावकारी ढङ्गले अनुगमन गर्न सकिरहेको छैन् ।

कालोवजारीका कारण धेरै चिजहरू अभाव हुँदै गएका छन् । कालोवजारी नियन्त्रण गर्ने कुरामा अहिलेसम्म कुनै सरोकारवाला निकाय लागेका छैनन् । कोरोनाको बहानामा आमनागरिकलाई सास्ती दिने काम बाहेक अरु केही गर्न सकेका छैनन् । आमनागरिक त सरकारले जारी गरेको निषेधाज्ञालाई पालनागरी घरमै बसिरहेका छन् । काम गर्न नपाए पछि पैसा आउँदैन, पैसा नभए पछि भोकै बस्नु पर्ने बाध्यता हुन्छ । त्यस्तो बाध्यतामा धेरै नागरिक परिसकेका छन् । आज धेरैको चुल्लो निभेको अवस्था छ । श्रमजीवि बर्ग जो दैनिक मजदुरी गरेर जीविका चलाईरहेका थिए ति बर्गको अवस्था यति बेला नाजुक छ ।

यो आपत बिपतमा हेर्नु पर्ने त सरकारले हो नी त । तर, सरकार कता कता हराए जस्तो छ । निषेधाज्ञाको मौका छोपेर पैसा कमाउनेको पनि कमी छैन यहाँ । बजारमा महङ्गीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । यस्तो भए पछि कसरी बाँच्ने ? मान्छे बाँच्नका लागि गाँस बाँस, कपासको अति आबश्यकता हुन्छ । त्यसको जोहो गर्न रोजगारी चाहिन्छ । जव मान्छेको रोजगार गुम्छ तब उ भोको हुन्छ । किन की रोजगार गुमेपछि उसँग पैसा हुँदैन । अहिले आम नागरिकको समस्या यस्तै बन्दै छ । सरकारी जागिर खाने, सरकारी तलव भत्ता बुझने बाहेक अरु नागरिकको समस्या दयनीय छ । शहर बजारमा भाडामा बस्ने नागरिकको समस्या त्यस्तै छ । घरधनीहरूले महिना कटदा भाडा छोडदैनन् । शहरमा कोठा भाडाको पनि त्यस्तै महङ्गी छ ।

अहिले देश पूरै भद्रगोल अवस्थामा छ । समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ । धन हुनेको मन छैन, मन हुनेको धन छैन । पैसा हुनेहरूले त्यस्ता समस्यामा परेका नागरिकहरूलाई सहयोग गरे हुन्थ्यो नि । नेपालमा सहयोगी हातहरू नउठेको होइन, उठिरहेका छन् । तर, त्यतिले मात्र प्रयाप्त छैन । अव सवैले मन फुकाएर आ-आफ्नो ठाउँवाट समस्यामा परिरहेका नागरिकहरूलाई जे सकिन्छ सहयोग गर्ने भावना बसालौं । समस्यामा परेको बेलामा हो एकले अर्कालाई सहयोग गर्ने अरु बेला त आफैँ गरिखाईन्छ नी । अब सरकारको मुख ताकेर बस्ने बेला छैन आफनो सुरक्षा आफैँ गर्ने हो ।

यसमा तपाइको मत

अन्य समाचार