पोखरा,
वैशाख २६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिनुभएको छ । आइतबार गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाउनुभएको हो ।
उक्त राजीनामा गण्डकी प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको छ । प्रदेश कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भएको र संविधानको धारा १६९ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषदको कार्य सञ्चालन गर्ने बताएको छ ।
प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान
गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तीन दिनको समय दिनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।






