काठमाडौं,
वैशाख २३ ।
गीतकार तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक भएको छ । तस्बिर एल्बममा उहाँले ‘गुलेलीमा’, ‘पराईको सिन्दुर’, ‘पछ्यौरी’ र ‘लाली ओठैमा’ जस्ता गीत समावेश गर्नुभएको छ ।
कोरोना महामारीका बीचमा उहाँले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गर्नुभएको हो । ‘मेरो प्रेरणाको स्रोत नै मेरी आमा हुनुहुन्छ, जसको कविता सुनेर, पढेर यो ठाउँमा उभिन सक्ने शाहस बटुल्न सकेको छु’, उहाँ भन्नुहुन्छ ।
गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको सङ्गीत र शाहस शाक्यको सङ्गीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र सङ्गीत तथा विनोद भुजेलको सङ्गीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन छ ।
एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरी र पराईको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गर्नुभएको छ । लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ ।
गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जिवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशिला थापा तथा लाली ओठैमा पल शाह र गरिमा शर्माको अभिनय छ । तस्विर एल्बमको कभर डिजाइन नहकुल खड्काले गर्नुभएको हो । ताराको पहिलो एल्बम ‘सपना’ र दोस्रो एल्बम ‘सुनौलो तारा’ रहेको थियो ।






