काठमाडौं,
वैशाख २० ।
कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आजदेखि हवाइ उडान पनि बन्द गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन् ।
आन्तरिक वायुसेवा कम्पनीहरुले आज दिनभरि हुने उडान तालिका अनुसार नै हुने जनाएका छन् । सरकारले आज रातिदेखि लागू हुनेगरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरु दिउँसो उडानलाई लिएर अन्योलमा छन् । तर, एअरलाइन्सहरुले आज उडानको झन धेरै खाँचो रहेको भन्दै उडान यथावत रहेको जनाएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरी सरकारले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।
सार्वजनिक यातायात संचालनमा रोक लगाएर हवाई सेवा खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध हुँदै आएको थियो ।






