निशेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौं,
वैशाख १९ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा गत बिहीबारदेखि सुरू भएको निशेधाज्ञा आजदेखि प्रशासनले थप कडाइ गरिने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताउनुभयो । आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय गर्ने उहाँले बताउनुभयो ।

यस्तै समाचार सङ्कलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले एकसातासम्म निषेधाज्ञा लगाएको र मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार