काठमाडौं,
वैशाख १६ ।
कोरोना भाइरसको बढ्दो संक्रमणको गतिलाई अवरुद्ध (चेनब्रेक) गर्न भन्दै सरकारले आजदेखि निषेधाज्ञा लागु गरेको छ । सरकारले संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएसँगै काठमाडौंका सडक सुनसान देखिएका छन् भने सुरक्षाकर्मीले चेकजाँचलाई कडा बनाएका छन् ।
आज विहानैदेखि अत्यावश्यक भन्दा अन्य सेवा बन्द गरिएको छ । विहान तरकारी, खाद्यान्य, फलफूल पसल खुल्ला भएपनि अन्य सेवा भने बन्द छ । सरकारले आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने यसअघि नै निर्णय गरेपछि अधिकांश मानिस काठमाडौं बाहिर गइसकेका छन् ।
प्रहरीको तथ्यांक अनुसार बुधबारसम्म करिव पाँच लाख मानिसले काठमाडौं छोडिसकेका छन् ।
कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमणको अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।
सार्वजनिक एवं निजी सवारी साधन १६ वैशाख बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ ।
सरकारले यस अवधिमा बिना काम घर बाहिर ननिस्कन आग्रह गरेको छ । त्यसैगरी सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइदैन ।






