सिरहा,
चैत २९ ।
सिरहाको लहान नगरपालिमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार लहान नगरपालिका-२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी व्यवसायी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको हो ।
डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिनुभयो ।
उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । अनिताको लहान अस्पतालमा उपचार भइरहेको छ । उहाँँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरी र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।






