काठमाडौं,
चैत २८ ।
विन्ध्यवासिनी म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । अवार्ड समारोहमा ख्यातिप्राप्त गायक योगेश वैद्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
गायक वैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उहाँकै निवासमा पुगेर पुगेर सम्मान अर्पण गरिएको हो । गायक वैद्यलाई कार्यक्रमका आयोजक र विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरूले निवासमै पुगेर सम्मान अर्पण गर्नुभएको थियो ।
अवार्ड समारोहमा लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपैयाँसहित सङ्गीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठाीलाई २५ हजार रुपैयाँसहित सङ्गीत रत्न सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी सङ्गीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।
अवार्डमा अजर जंगम र पूर्णिमा तामाङले सर्वोत्कृष्ट सुगम सङ्गीत गायक गायिकाको अवार्ड प्राप्तगर्दा धु्रबप्रसाद अम्गाईको गीत सर्वोत्कृष्ट घोषित गरिएको थियो । कार्यक्रममा बीबी अनुरागीले सङ्गीतकारको अवार्ड उचाल्नुभयो भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेञ्जरको अवार्ड विजेता हुनुभयो ।
पप सङ्गीततर्फ धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायक र सिर्जना कार्की सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल हुनुभयो । त्यसैगरी गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगल गायनमा बाजी मार्नुभयो भने शिरिष देवकोटा र सरिता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता हुनुभयो ।
त्यसैगरी दुर्गेश थापा र प्राची लामाको दम्पती पप तथा आधुनिक गीतको भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम सङ्गीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल हुनुभयो ।
कार्यक्रममा समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्फको नवप्रतिभा पुरस्कार आफ्नो बनाउँदा नायक पल शाह र नायिका अनु शाहले पपूलर अवार्ड चुम्न सफल हुनुभयो । नरेश खाती पब्लीक च्वाईस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बी पाण्डे जूरी अवार्ड विजेता हुनुभएको थियो ।






