✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत १६ ।
बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर, अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । नेपाल जलस्रोतको धनी देश हो । कृषियोग्य जमिन पनि पर्याप्त छ । अव केवल कृषि क्षेत्रमा मिहिनेती हातहरूको खाँचो छ । वैदेशिक रोजगारमा हिँड्नेको लस्करलाई स्वदेशमै रोकेर रोजगारको अवसर सृजना गर्न सक्ने सम्भावना पनि छ । अव कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन बलियो इच्छाशक्ति, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ । कृषि पेशालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरू कृषि पेसातर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केही युवाहरू बिदेशवाट स्वदेश फर्किएर कृषि पेशातर्फ पनि लागेका छन् ।
पछिल्लो समयमा आएर कुखुरा पालन, बाख्रा पालन, गाई पालन, बुंगुर पालनका साथै तरकारी, फलफुललगायत च्याउ खेतीमा युवाहरू आर्कर्षित छन् । यो खुसीको कुरा पनि हो । अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हो । त्यसो भयो भने देशको बिकास हुन्छ । अव राज्यले कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिनुपर्छ । कृषि क्षेत्र भनेको अर्थतन्त्रको मेरुदण्ड हो । यसको बिकास र प्रर्वदनमा लाग्नुपर्छ । अव नेपालका युवाहरू कृषि कर्ममा जुटनुपर्छ । काम भनेको सानो ठूलो हुँदैन । श्रमको सम्मान हुनुपर्छ । पसिना बगाएर मानो रोपी मुरी फलाउने किसानहरूलाई सवैले सम्मान र हौसला दिनुपर्छ । तथ्याङ्क अनुसार नेपालको कूल जनसङ्ख्याको करिब ६५ प्रतिशत किसानहरू कृषि पेसामा आबद्ध छन् ।
तरपनि हामी कृषिजन्य वस्तुमा अन्य मुलुकको भर पर्नुपर्ने अवस्था छ । मागअनुसार नेपालमा कृषिजन्य वस्तु उत्पादन नहुँदा परनिर्भरता हुनुपर्ने बाध्यता छ । नेपाल ससाना कृषिजन्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेको छैन । हामीले बर्सेनी अर्बौं मूल्यको कृषिउपज आयात गर्नुपर्ने बाध्यता छ । लसुन, प्याज, आलु, गेडागुडी, कागती, खुर्सानी, टमाटर, धनीयालगायतका कृषिजन्य उत्पादनमा पनि नेपालले भारतसहित तेस्रो मुलुकको मुख ताक्नुपर्ने अवस्था छ । यो दुखद पक्ष हो । दिन प्रतिदिन हामी महङ्गो कृषिजन्य वस्तु उपभोग गर्न बाध्य छौं ।
आफ्नो देशमा उत्पादन कम भए पछि महङ्गी बढनु स्वभाविक पनि हो । नेपाल सरकारले कृषिका अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्ने योजना नल्याएको होइन तर कार्यान्वयनको पक्ष भने फितलो भयो । ती योजनाको पारदर्शिता, सुशासन र कार्यान्वयन पक्ष बलियो नहुँदा हामी कृषिमा आत्मनिर्भर हुन नसकेको हो । मुलुक अहिले पनि यस्तै अवस्थाबाट गुज्रिरहेको छ । आयात—निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा अवस्था निराशाजनक देखिन्छ । सन् १९६० को दशकमा नेपाल धान चामल निर्यात गर्ने मुख्य मुलुकमा परेको पाइन्छ । तर, अहिले हामी परनिर्भर बन्दा दुःख लाग्छ । कृषिजन्य वस्तु आयातका नाममा बर्सेनी दुई खर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशमै यस्ता पदार्थको प्रशस्त उत्पादन भएको भए हाम्रै किसानले यो रकम आर्जन गर्न सक्थे ।
यसले व्यापार घाटा पनि कम हुन्थ्यो र मुलुकको अर्थतन्त्र पनि बलियो हुन्थ्यो । अव यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अव भाषणमा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नु पर्ने जरुरी देखिएको छ । कृषिजन्य उत्पादन वृद्धि गर्न, बजारीकरण, भण्डारण र कृषि क्षेत्रलाई सेवा सुविधा उपलब्ध गराउन सरकारले बिशेषरुपले ध्यान दिन आवश्यक छ । अव कृषि क्षेत्रलाई ब्यापकरुपमा बिकास गर्नुपर्छ । कृषि पेशा भनेको हाम्रा पुर्खाहरूले गर्दै आएको मुख्य पेशा हो । त्यसैले यसको बिकास र प्रर्वदन गर्नु हामी सवैको कर्तव्य र दायित्व हो ।






