समाजमा किन बढिरहेका छन् हिंसाजन्य घटनाहरू !

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत ७ ।
देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभावपर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरू दिन-प्रतिदिन बढदै गएका छन् । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरू आइरहेका छन ।

समाजमा दण्डहीनताको वृद्धि भइरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरूमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरू दोहोरीरहेका छन् । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरू बिभिन्न सञ्चारमाध्यमहरूमा आउने गरेको देखिन्छ । नैतिक शिक्षाको कमीका कारण यस्तो हुँदै गएको छ विभिन्न प्रलोभन देखाएर महिलाहरूको अस्मिता माथि खेलवाड गरिएको छ । महिलाहरूको अस्मिता माथि किन खेलवाड ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अहिलेसम्म पनि बलात्कारी हत्याराको पत्ता लाग्न सकेको अवस्था छैन ।

त्यसैगरी बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरिएको थियो । केही समय अघि १७वर्षीय किशोरी भागीरथी भट्टको विद्यालयबाट घर फर्किने क्रममा बाटोमै बलात्कार गरी हत्या गरिएको थियो । यस्ता घटनाहरू विभिन्न मिडियाबाट बाहिर आउने गरेको छ । समाजमा हुने गरेका यस्ता विविध घटना दिन-प्रतिदिन बढिरहेका छन् ।

कतिपय घटनाहरूमा पीडकलाई सामान्य कारबाहीमै छाड्ने गरिएको र कतिपय मुद्दाहरूमा न्यायालयबाट पीडितले न्यायसमेत नपाउँदा समाजमा दण्डहीनता दैनिकजस्तो बढिरहेको देखिन्छ । कतिपय घटनामा प्रहरीलेपीडितको उजुरीसमेत नलिएको पनि पाइन्छ । नेपाली समाजमा दिन–प्रतिदिन यस्ता जघन्य अपराधका घटना सार्वजनिक भइरहँदा महिला, बालबालिका, किशोरी तथा वृद्धाहरू कतिसम्म सुरक्षित छन् त ? भन्ने प्रश्न उठेको छ । कुनै महिला घरबाट बाहिर आफ्नो काम गर्नका लागि निस्केपछि घर फर्किंदा सकुसल फर्किन्छ कि फर्किंदैनन् भन्ने प्रश्न पनि उठछ । यस्तो किन भइरहेको छ । महिला अधिकारकर्मीहरू यो बिषयमा अलि बढि गम्भिर हुनु पर्ने देखिएको छ । देशका बिभिन्न ठाउँमा जनचेतनाका साथै नैतिक शिक्षा दिनु पर्ने पनि आबश्यकता देखिन्छ । अशिक्षाका कारण पनि यस्ता जघन्य अपराध दोहोरी रहन्छन ।

समाजमा अशान्ति, असभ्य, अराजकता बढन दिनु हुँदैन । नेपालमा विभिन्न प्रकारका ऐन–कानुनहरूको निर्माण त भएकै छन् । तर, ती ऐन कानुनको कार्यान्वयन हुने पक्ष भने केही हदसम्म फितलो नै भएको पाइन्छ । यसरी नेपाली समाजमा यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै जानु भनेको कानुनको कार्यान्वयन पक्ष फितलो देखिनु नै हो । साथै कानुन सबैका लागि समानरुपमा लागू हुनुपर्छ । कानुनी राज्यमा कानुन सबैभन्दा माथि हुन्छ । त्यसैले कानुन सबैका लागि समान हुनुपर्दछ । ऐन–कानुनहरू राज्यले कडाइका साथ लागू गर्न सक्नुपर्दछ । समाजमा जबसम्म नैतिक शिक्षा, सकारात्मक सोचको विकास हुन सक्दैन तबसम्म यस्ता प्रकारका जघन्य अपराधहरुमा कमी आउन सक्ने अवस्था देखिँदैन ।

यसमा तपाइको मत

अन्य समाचार