✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन २९ ।
नेपालको पछिल्लो राजनीति नराम्रोसँग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो सङ्केत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ ।
प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक सङ्कट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन् । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुर्याउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्रको चुनावी गठवन्धनलाई झण्डै दुई तिहाइ बहुमत दिए । त्यो बहुमत नपचेर अहिले जुन किसिमको गाईजात्रा प्रर्दशन भइरहेको छ यसमा जनता पुर्णरुपमा निराश छन् ।
नेपालको कम्युनिष्ट आन्दोलन बलियो र शक्तिशाली हुने भयो भन्ने जुन किसिमको जनतामा आश थियो त्यो अहिले पूर्णरुपमा चक्नाचुर भएको छ । चुनावी गठवन्धनको परिणाम पछि लगत्तै तत्कालिन एमाले र माओवादी केन्द्रबीच पाटी एकता भएर नेकपा निर्माण भयो । पार्टी भित्रको आन्तरिक विवादले नेकपा पनि सिद्धियो । नेपालमा कम्युनिष्टहरू पद र शक्तिका लागी एक आपसमा लडेर सिद्धिने गरेका छन् । अहिले नेकपा एमालेमा ठूलो विवाद देखिएको छ ।
ओली समूहले एकतर्फि रुपमा नेताहरूको जिम्मेवारी हेरफेर गरे पछि राजनीति समस्या खडा भएको छ । माधव समूहले पनि समान्तर समिति गठन गरेर अघि बढने सङ्केत देखाएका छन् । यसरी देश अनि पाटी चल्दैन । यो सिद्धिने बाटो हो । अव नेकपा एमाले सच्चिने की सिद्धिने ? नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकीकरणको करिब ३३ महिनापछि सर्वोच्चको आदेशले दुवै पार्टी अलग भएका छन् । टुट, फुट र गुटले दुवै पार्टीलाई दीर्घकालीन असर गर्ने निश्चित छ ।
नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टीबीचको एकीकरण सिद्धान्त र विचारको जगमा भन्दा पनि सत्ता र नेतृत्वको स्वार्थमा स्थापित थियो । स्वार्थ र महत्वकांक्षाको दस्ताबेजस्वरूप पालैपालो सरकारको नेतृत्व गर्ने र दुई अध्यक्ष रहने गरी साठी र चालीसको भागबन्डाका आधारमा पार्टी एकीकरण भएको थियो । त्यो सहमति कार्यन्वयन हुन नसक्दा देश अहिले राजनीतिक सङ्कटको गोलचक्करमा फसेको छ । नेपाली राजनीतिमा बाह्य दबाब र प्रभाव पनि परेको देखिन्छ ।
२०६२ मंसिर ७ गते तत्कालीन सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा सम्पन्न भएको बाह्रबुँदे सम्झौतापछि नेपालको राजनीतिमा भारतको निरन्तर प्रभाव रहँदै आएको छ । ओलीको अहंकार र प्रचण्डको पदीय लालचले हालको राजनीतिक सङ्कट निम्तिएकोे विश्लेषण छ । हालको राजनीतिक सङ्कटको कारक ओली, प्रचण्ड, माधव, झलनाथलगायतका नेताहरू हुन ।
प्रमुख राजनीतिक दलका युवा नेताहरूले यो राजनीतिक सङ्कट आउदा पनि समस्या समाधानका लागि कुनै भूमिका खेल्न सकेनन् । हाल उत्पन्न राजनीतिक तरलताले जनतामा अन्योल सिर्जना गरेको छ । राजनीतिक स्थिरताका लागि जनताले दिएको म्यान्डेटमाथि कुठाराघात भएको छ ।
अहिलेको राजनीतिक गतिविधिले परिवर्तन विरोधी शक्तिहरूलाई बल पुगेको छ । अव देश सत्ता समीकरणको गोलचक्करमा पुनः फस्ने निश्चित छ । देश पुरानो अवस्थामा फर्किएको छ । दल र तिनका नेताहरू समयमै नसच्चिए बर्वाद हुनेनिश्चित छ । आगामी निर्वाचनमा जनताले यसको फैसला गर्ने छन् ।






