काठमाडौं,
फागुन १५ ।
नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवार्ड ’को तयारी चरणमा रहेको बताइएको छ । यही फागुन २९ गते शनिवार आयोजना हुने नेपाली यो अवार्ड समारोहको तयारी अन्तिम चरणमा रहेको जनाइएको हो ।
इभेन्ट निर्देशक कमल जिसीका अनुसार कार्यक्रमको उद्घोषणको लागि सन्दिप क्षेत्री, माल्भिका सुब्बा, सञ्जोक बस्याल तय भइसकेको छ भने कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूले नाचघरमा तयारी सुरु गरिसकेका छन् । कार्यक्रमको कोरियोग्राफी नरेशविर सिंहलगायतले गर्नेछन् ।
कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहने छ भने साथमा सोभित बस्नेत, सुरक्षा पन्त, सलोन बस्नेत, जेबिका कार्कीलगायत दर्जन चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ । अवार्ड समारोह सोल्टि होटलमा सम्पन्न हुनेछ ।
यही फागुन १ गते सोल्टि होटलमा आयोजित एक विशेष समारोहमा यो वर्षको नेफ्टा अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।






