‘काठमाडौं,
फागुन १० ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा प्रदर्शन गरिने चलचित्रको सूची सार्वजनिक गरिएको छ । प्रतिष्ठानले चौँथो संस्करणको यो महोत्सवमा ३१ देशका ६३ वटा चलचित्र प्रदर्शन गरिने जनाएको छ । केपी पाठकले जारी गरेको विज्ञप्तिमा यस पटकको महोत्सवमा देशभित्र र बाहिरका गरी ६३ वटा चलचित्र प्रदर्शन गरिने छन् । उहाँका अनुसार विश्वका ५२ देशबाट प्राप्त ४५० चलचित्रबाट ती छानिएका हुन् । यसअघि १२ फागुनदेखि १६ सम्म महोत्सव गर्ने भन्दै विश्वभरका चलचित्र निर्मातासँग चलचित्र मागेको थियो । तर, कोरोना संक्रमणका सो समयबाट सारेर आगामी वर्षको २३ वैशाखदेखि २७ सम्म महोत्सव गर्न लागिएको पाठकले जनाउनुभयो ।
अध्यक्ष पाठकले ‘विश्वका कथाहरुको कथ्य उत्सव’ नाराका साथ यस पटकको महोत्सव महामारीको विषयमा बनेका चलचित्र पनि समावेश गरिएको छ । उहाँका अनुसार कोरोना कहरले पारेको प्रभावमा बनेका चलचित्रले ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड समेत प्रदान गरिने पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५०० डलरको बागमती अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र सर्टमध्येबाट उत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । फिचर चलचित्र तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ ।






