काठमाडौं,
फागुन ८ ।
७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७ का उपलक्ष्यमा आज फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा संयुक्तरूपमा ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वि.सं. २००७ को परिवर्तन नै देशमा लोकतन्त्रका लागि मुख्य जग भएको उल्लेख गर्नुभयो । उहाँले बेला बेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताउनुभयो । ‘२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्त्व राख्दछ, त्यही परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरू भएका हुन’ उहाँले भन्नुभयो ।
वि.सं. २००७ अगि लेखक, साहित्यकार र कविहरूले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो । ‘परिवर्तनका लागि कवि तथा लेखकहरूले जागरण अभियान चलाएका हुन्’, उहाँले भन्नुभयो । बुद्धिजीवीहरूले देशको यथार्थता बुझेर घट्नाक्रमहरूको विश्लेषण गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
‘बुद्धिजीवीहरू अलमलिए पनि जनता अलमलिँदैनन्’, उहाँले भन्नुभयो, ‘बुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले युवाहरूले गलत कुराका लागि कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताउनुभयो । ‘सही बाटोबाट मात्र सहज परिस्थिति निर्माण गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
कवितातर्फ परियार र निबन्धतर्फ भट्टराई प्रथम
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका कवि तथा निबन्धकारहरूलाई नगद र सम्मानपत्रसहित सम्मानित गर्नुभएको थियो । निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रम पवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो हुनुभएको थियो ।
उहाँहरूलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद रूपैयाँ प्रदान गरिएको थियो । पुरस्कृत प्रतिभाहरूलाई कुलपति उप्रेतीले फूलमाला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नगद पुरस्कार र प्रधानमन्त्रीले सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा प्रधानमन्त्री आलीले नेपाल प्रज्ञा-प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायमार्फत् प्रज्ञा-प्रतिष्ठानका कलाकार र सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राईमार्फत् सांस्कृतिक संस्थानका कलाकारहरूलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा नेपालका सात ओटै प्रदेशका लोकसंस्कृति झल्किने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै सरकारका विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल टेलिभिजनकी भावना केसीले गर्नुभएको थियो ।






