✍️डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन ५ ।
पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ । यो चिन्ताको विषय हो । केही समयदेखि मुलुक आर्थिक, राजनैतिक र संवैधानिक सङ्कटमा छ । राजनैतिक परिवर्तनपछि पटक-पटक नेताहरूले जनतालाई भर्याङ बनाएर सत्तामा जाने गरेका छन् । सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । यसले गर्दा पनि आम नागरिक दलप्रति असन्तुष्ट छन् । यसो हुनुमा दलहरू नै दोषी छन् । केपी ओली खेमाको नेकपाले चुनावी सभा गर्दै हिडेको छ । चुनाव हुन्छ या हुँदैन त्यो भने भन्न सकिने अवस्था छैन । देश कोरोनाको कारण उत्पन्न समस्याले झेलिँदै गएको छ ।
गरिखाने वर्ग झन पछि झन गरिबीमा धकेलिँदै छन् । यस्तो बेलामा निर्वाचन गर्न खोजेर देशलाई आर्थीक सङ्कटमा पार्न खोजिँदै छ । बजार अनियन्त्रित भइरहेका बेला बेमौसमको चुनावले आउँदा दिनको बजार कहाँ पुग्ला ? यो नै गम्भिर विषय हो । पैसा बिना चुनावमा उम्मेदार बन्न पनि शकस परिरहेको अवस्था छ । जोसँग पैसा छ, उसैको हातमा टिकट थमाइदिने लामो समयदेखिको राजनैतिक प्रवृति अझै पनि कायम छ । पैसा नहुनेले झट्ट टिकट नै पाउँदैनन् यदि टिकट पाइहाले पनि जित्ने सम्भावना अत्यन्त न्युन हुन्छ । संसदीय व्यवस्थामा चुनाव महङ्गो बन्दै गएको छ । विगतमा आफ्नो पार्टी र देशको निम्ती त्याग तपस्या गरेका विभिन्न पार्टीका नेताहरू पैसाको अभावले चुनावमा उठ्ने आँट गर्दैनन् । यस्तो छ संसदीय व्यवस्थाको विडम्वना । जबसम्म राजनीतिलाई समाजसेवाका रुपमा हेरिदैन तब सम्म यस्ता समस्याहरू बारम्बार दोहोरिरहन्छन् । देशलाई सङ्कटबाट बचाउँन देशभक्त नेपालीहरू आफैँ जाग्नुपर्छ ।
देशको भविष्य सुधार्न सबै पक्ष इमान्दारीका साथ लाग्नुपर्छ । देशमा अधिनायकवाद वा त्यस्तै कुनै पनि तानाशाह टिक्न सक्दैनन् । कसैले त्यस्तो सोचेको छ भने त्यो केबल दिवा सपना मात्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । यहाँ अरु कुनै विकल्प छैन । स्पष्ट खाका र मार्ग दर्शन दिन नसक्ने कुनै नेताको काम छैन । अब देशलाई क्षमतावान नेताको आवश्यकता परेको छ । अब अल्मलिने बेला छैन । देशलाई माथि उठाउँन सक्ने सक्षम र योग्य नेताको जरुरी छ ।
अब देश हाँक्ने राजनीतिक दल र तिनका नेताहरूको इमान्दारीताको खाँचो छ । नेकपालाई दुईतिहाइको बहुमत नपचेर संसद विघटन गर्यो । जसको कारणले देशमा धेरै समस्याहरू उत्पन्न भएका छन् । वर्तमान समयमा उत्पन्न राजनीतिक र संवैधानिक सङ्कट समाधान गरी छिटो निकास खोजिनुपर्छ ।
अन्तरविरोध वा द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपर्छ । राजनीतिक नेतृत्व निजी गुटगत वा निश्चित समूहको हितमा लाग्दा देशको भविष्य बर्बाद हुँदैछ । यसअवस्थाले मुलुक प्रतिगमनतिर जाने खतरा आउनसक्छ । यस्तो अवस्थामा सबै दलहरू जिम्मेवार हुनुपर्छ ।






