काठमाडौं,
फागुन २ ।
नेपाली कांग्रेसमा दर्जन चलचित्रकर्मी प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराउनुभएको हो । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा बरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाईमा कार्यक्रमको आयोजना भएको थियो ।
पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा बरिष्ठ मेकप आर्टिष्ट सन्तु तामाङ, बरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, बरिष्ठ पत्रकार बिजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र संघका उपमहासचिव एवम चलचित्र बितरक गोपाल कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरवी, चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता÷कलाकार प्रभाकर श्रेष्ठ, निर्माता/कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठलगायत चलचित्रकर्मी हुनुहुन्छ ।
पार्टी प्रवेश कार्यक्रमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमको आयोजना विशेषगरी चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरू कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले गर्नुभएको थियो ।






