✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ १६ ।
हाम्रो देश नेपालमा आज माघ १६ गते शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो शहीद दिवस देशभक्त नेपाली जनताका लागि महत्वपूर्ण दिवस हो । यो दिवसमा नेपाली जनताले वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी उनीहरूले देश र जनताप्रति गरेको वलिदानको उच्च कदर गर्दै श्रदासुमन गर्नु उनीहरुप्रतिको वास्तविक सम्मान हो ।
जसले देश र जनताको मुक्तिको लागि हाँसी हाँसी आफ्नो वलिदानी दिन्छन् । त्यस्ता व्यक्तिलाई नै शहीद भनिन्छ । १०४ बर्षे तानाशाही राणा शासनको विरोधमा पर्दशन गर्ने युवाहरू शुक्रराज शास्त्री र धर्मभक्त माथेमा लाई फाँसी र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली प्रहार गरेर राणा शासकले हत्या गरेका थिए । देशमा राणा शासनको विरुद्धमा लडेका ज्ञात, अज्ञात शहीदहरूको वलिदानको उच्च मुल्याङ्न गर्दै उनीहरूले देश र जनतालाई देखाएको बाटो अनुकरण गर्न माघ १६ गते हामीले सहिद दिवस मनाउँदै आएका छौँ ।
देश र जनताका लागि वलिदानी दिने यस्ता वीर सहिदहरू हाम्रो देशमा हजारौंको सङ्ख्यामा छन् । उनीहरूले देश र नेपाली जनताका लागि आफ्नो प्राणको आहुती दिए । शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो । तर, नेताहरूले मीठा भाषण गरेर मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुँदैन । शहीदगेटमा गएर शहीदहरूको फोटोमा माल्यार्पण गर्दैमा, शहीदहरूका नाममा एकमिनेट मौनधारणा गर्दैमा, शहीद दिवसको सम्मान हुँदैन । वास्तविक सम्मान त तिनै शहीदका परिवार जो बिचल्लीमापरी दयनीय अवस्था गुजारिरहेका छन् तिनीहरूको उचित हेरविचार गर्नु नै शहीद दिवसको सार्थकता रहने छ ।
शहीदहरू सबैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु र कदर गर्नु हामी सबै नेपालीको कर्तव्य र दायित्व हो । मुलुकमा यस्ता शहीदहरूले बलिदानी नदिएको भए आज हामी नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनौँ । शहीदहरू जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूलाई उच्च सम्मान गर्न आवश्यक छ । आज हामी सबै नेपालीको प्रमुख दायित्व भनेको नै शहीदहरूको सपना साकार पार्नु हो । शहीदहरूको रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई हामी कसैले भुल्नु हुँदैन ।






