✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ १५ ।
देशमा राजनीतिक परिवर्तन भएपछि जनतामा एक खालको उत्साह पलाएको थियो । अब देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो । अहिले ती आशा र उत्साह निराशामा परिणत भएका छन् । अहिले मुलुकको भविष्य अन्धकारतर्फ उन्मुख भएको सङ्केत देखिन्छ । दल र तिनका नेताहरू निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनीहरूले जनताको हितलाई सर्वोपरी ठानेनन् । अब देशमा आशलाग्दा नयाँ अनुहारको नेतृत्व आवश्यकता छ । किनभने उनै पात्र, उही प्रवृति भएका नेताबाट देशको विकास हुन सकेन । अब नयाँ सोच, नयाँ शैली र दुरदर्शी नेतृत्वको खाँचो छ ।
स्वार्थी व्यक्तिहरूको नेतृत्वबाट देश माथि उठ्न नसकेको पुष्टि भइ सकेको छ । यो राजनीतिक विकृतिको पराकाष्ठा हो । राजनीतिमा दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आएको छ । गुटगत राजनीतिलाई बलियो बनाउन नेताहरू जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि पछि परेनन् । नेताहरू सत्तामा पुग्न र टिकिरहन जस्तोसुकै कदम उठाउन पनि तयार भए । सत्ता जोगाउनका लागि शीर्षस्थ नेताले पुरानै प्रवृत्तिलाई निरन्तरण दिँदै आए । लोकतन्त्रको नाममा गुटतन्त्र हावी हुँदै आएको छ । यो देश र पार्टीकै लागि हानिकारक छ । पार्टीको विधि विधान भन्दा व्यक्तिको स्वेच्छाचारितामा राज्य सञ्चालित हुँदा यस्ता समस्या आउने गर्छन् । यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म देश र जनताको हित हुँदैन ।
सबै दलका अधिकांश शीर्षस्थ नेताहरू यही मानसिकता बोकेका छन् । अवसरवादी नेताहरू नै पटक पटक सत्तामा पुगिरहने र नयाँ अनुहारलाई अवसर नदिने हो भने निकट भविष्यमा मुलुकमा अर्को राजनीतिक सङ्कट नआउला भन्न सकिदैन । यदि देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने नै हो भने मुलुकमा अब राजनीतिक पुस्तान्तर अनिवार्य छ । युवा नेताको दुरदर्शी कार्यशैली राष्ट्रहितको कार्यमा परिक्षण गराउने बेला यही हो । परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन, विकास र प्रगति गर्ने युवा नेता देशले चाहेको छ । मुलुकमा राजनीतिक परिवर्तन भयो । तर, नेताहरूको कार्यशैलीमा परिवर्तन भएनन् । यस्ता परम्परागत विकृतिको अन्त्य गर्न जरुरी छ ।






