प्रज्ञा-प्रतिष्ठानमा पुस्तक मेला

काठमाडौं,
पुस २९ ।

प्रज्ञा-प्रतिष्ठानले विविध पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीका लागि मेला आयोजना गरेको छ । २९९ औं पृथ्वी जयन्तीका अवसर पारेर कमलादीस्थित प्रज्ञाको भानुभक्त कक्षमा पुस्तक मेला भइरहेको हो । साताव्यापी मेलामा विभिन्न स्थानहरूबाट पुस्तकप्रेमीहरू सहभागी भइरहेका छन् ।

पुस्तकहरू हरेक नेपालीहरूको हातमा पुर्‍याउन प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनुभयो । हाल साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुस्तकहरू पुर्‍याउने प्रज्ञाको योजना छ । पठन संस्कृतिको विकास, बिक्री, प्रवद्र्धन, लेखक, पाठक र प्रकाशकबीच त्रिकोणात्मक भेट हुने थलोका रूपमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा वि.सं. २०१५ सालदेखि हालसम्म प्रज्ञाले प्रकाशन गरेका पुस्तकहरू राखिएका छन् । विभिन्न विषयका चार सय ८५ वटा पुस्तक र पत्रपत्रिकाहरू हेर्न र खरिद गर्न पाइने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोशमा छुटको व्यवस्था पनि गरिएको छ । प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार