काठमाडौं,
पुस २१ ।
शिव परियारको स्वरमा रहेको गीत ‘तिम्रो याद भुलाउन’ सार्वजनिक भएको छ । सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा उमेश रेग्मीको शब्द तथा सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन छ ।
युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाईएको छ । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ विगारिरहेको सन्देश भिडियोमा ब्यक्त गरिएको छ ।
https://www.youtube.com/watch?v=oloDLBqJUxQ
लामो समयदेखि सञ्चारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । यो भिडियोबाट दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् । यसअघि आधा दर्जनबढी भिडियोमा अभिनय गरेकी मोडल साक्षी लम्सालले आफ्नो कामलाई दर्शकले रुचाउनेमा आशावादी रहेको सुनिईन् ।
लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा सङ्गीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाईसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत सङ्गीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, ‘मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’लगायत गीत लोकप्रिय छन् ।
निसल पौडेलले छायाँकन गरेको भिडियोमा विकाश दाहाको सम्पादन छ । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






