✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
पुस १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि यतिवेला नेपाली राजनीतिमा विभिन्न अडकलबाजी हुन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओली स्वयम्ले गर्नुभएको छ भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गर्नुभएको छ । यही पुस ५ गते संसद विघटन भएपछि माधव-प्रचण्ड समूह आन्दोलित छन् । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केही अन्य दलले पनि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेर उनीहरु सडकमा छन । परिस्थिती जटिल मोडमा छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको राजनीतिले यो स्थिती आएको हो ।
ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिनका लागि कस्ले बाध्य बनायो ? यो बिषय बिस्तारै खुल्दै जाला । यसमा प्रचण्ड-माधवको भूमिका के छ ? प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनीय घटना हो । यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका उपलब्धिलाई धरापमा पारेको छ । कांग्रेसलगायत गैरकम्युनिष्ट कित्ताका शक्तिहरू नेकपा बिभाजनमा रमिते छन् ।
कम्युनिष्ट पार्टीले दुईतिहाई नजकिको मत प्राप्त गरेर तीनै तहमा करिब–करिब एकमना सरकार गठन गरेको हो । तर, अहिले समस्या आएको छ । नेकपा नराम्ररी विभाजित भएको छ । यसपटकको विभाजन विगतका टुटफुटजस्तो छैन । करिब आठ दशकको कम्युनिष्ट इतिहासलाई चकनाचुर पारेको छ । नेपाली जनतामा कम्युनिष्ट सिद्धान्त र आस्थाप्रति चरम घृणा र अविश्वास पैदा भएको छ । अहिले फुटेको पार्टी भोलि जुटे पनि जनताले पत्याउने अवस्था छैन । आजसम्म नेपाली जनताले कांग्रेसको विकल्पमा कम्युनिष्ट र कम्युनिष्टको विकल्पमा कांग्रेसलाई अपनाउँदै आएका थिए । अब के हुन्छ भन्न सकिदैन । संविधानको आशय, भावना र मर्म एकातिर काम र व्यवहार अर्कातिर हुँदै आएको छ ।
आमजनताले सरकार भएको अनुभूति कहिल्यै गर्न पाएका छैनन् । प्रत्येक शासकले आफ्ना पालामा संविधानमाथि थिचोमिचो गर्दै आएका छन् । कम्युनिष्टको पतनका कारण कांग्रेस फेरि एकपटक अन्तिम र एक मात्र विकल्पका रूपमा खडा हुन पुगेको छ । यसर्थ कांग्रेसले पनि उसप्रतिको जनआस्था र विश्वास जोगाइराख्न सकेन भने जनता अन्य विकल्प खोज्न बाध्य हुनेछन् । नेपाली जनताले जे चाहेका हुन त्यो हुन सकेको छैन । जनता अहिले निराशको अवस्थामा छन् । यो अवस्था आउनुमा नेकपाका दुवै समूह दोषि छन् । मुलुक अफठ्यारो बाटोमा उभिएको छ । राजनीतिक निकास छिटो खोजिनु पर्छ ।






