व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा चेम्बरको जोड

काठमाडौं,
पुस १५ ।

सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिनुभएको छ । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राख्नुभएको हो ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताउनुभयो । कोभिड–१९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनीतिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायिक वातावरणमा आँच आउन नदिन चेम्बरले सशक्त रुपमा आवाज उठाउदै आएको जानकारी दिनुका साथै उद्यमी व्यवसायीले आ–आफ्नो तर्फबाट दबाब दिनुपर्ने बताउनुभयो ।

चेम्बर अध्यक्ष श्रेष्ठले विगतमा चेम्बर अन्तर्गत वुमन इन्टरप्रेनेउर कमिटी रहेकामा व्यापारमा कृयाशिल महिलाहरूको व्यवसायिक हितलाई केन्द्रमा राखेर नेपाल महिला चेम्बर गठन गरिएको पृष्‍ठभुमी बारे प्रकाश पार्दै पछिल्लो समय बुमन चेम्बरले गर्दै आएको कार्यहरू प्रभावकारी रहेको भन्दै नेतृत्वको प्रशंसा गनुभयो । अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले वुमन चेम्बरलाई प्राथमिकता दिदै आएको बताउदै आगामी दिनमा पनि महिला उद्यमीहरूको व्यवसायिक हितको पक्षमा रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले नवीनतम क्षेत्रको पहिचानगरी व्यवसायिक रुपमा अघि बढन आग्रह गर्दै चेम्बर सम्बद्ध महिला उद्यमीबाट उत्पादित सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा प्रबर्धन गर्न चेम्बरले सघाउने पनि उल्लेख गर्नुभयो ।

त्यसैगरी, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अहिलेको परिवेशमा महिला उद्यमीहरुले व्यवसायिक सफलताका लागि नवीन आयामका साथ अघिबढनु पर्ने खाँचो औंल्याउदै अनलाइन ट्रेडिङमा ध्यान केन्द्रित गर्न सुझाउनुभयो । अध्यक्ष श्रेष्ठले कोभिडका कारण बढी जसो महिला उद्यमीहरू प्रभावित भएकाले नेपाल चेम्बर नेतृत्वलाई महिला उद्यमीका समस्या उजागार गर्न र समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो । साथै, अध्यक्ष श्रेष्ठले चेम्बरको ७० बर्ष प्रवेशले चेम्बर सम्बद्ध उद्यमी व्यवसायीमा नयाँ उमङ्ग ल्याएको आफूले महशुश गरेको उल्लेख गर्दै अंग्रेजी नयाँ बर्ष २०२१ समेतले व्यवसायिक वातावरण निर्माणमा सघाउ पुर्‍याउन सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सन २०२० अवधीमा महिला चेम्बरले गरेका गतिविधि बारे प्रकाश पार्दै २०२१ मा थप प्रभावकारी कार्यक्रमहरू गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा चेम्बरका महानिर्देशक कैलाश बजिमय, महिला चेम्बरका उपाध्यक्षद्वय सुश्मा शर्मा, अम्बिका शर्मा, सल्लाहाकारद्वय निलम ताम्राकार, शान्ती शाक्य, कोषाध्यक्ष चारु सिकारिया, चेम्बरकी उप निर्देशक सृस्‍टि त्रिपाठीलगायत महिला उद्यमीहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार