अब राष्ट्रिय सहमतिको सरकार बनाएर निकास दिनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं,
पुस ६ ।

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको बताउनुभएको छ । सोमवार गोरखामा पत्रकार भेटघाटका क्रममा उहाँले सबै राजनीतिक दल मिलेर सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।

‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा भएकाले प्रधानमन्त्रीले घोषणा गरेको चुनाव स्वीकार गर्छौँ’, उहाँले भन्नुभयो, ‘अब सहमतिको सरकार बनाएर चुनाव सम्पन्न गर्नुपर्छ ।’

संसद बिघटन प्रकरणमा प्रधानमन्त्रीको अदूरदर्शिता भन्दै उहाँले राष्ट्रपतिको भने बचाउ गर्नुभयो । ‘संसद खारेज गर्ने निर्णय गर्नुमा प्रधानमन्त्रीको अदूरदर्शिता देखिन्छ, तर राष्ट्रपतिको कुनै दोष छैन’, उहाँले भन्नुभयो, ‘संसद बिघटनसँगसँगै चुनावको मिति तोक्नु भने राम्रो पक्ष हो ।’ सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी भित्रको किचलोका कारण देश सङ्कटमा परेको उहाँले आरोप लगाउनुभयो ।

संसद बिघटनको मुद्धा अदालतमा पुगेकाले अदालतले गर्ने फैसला परिवार दललाई स्वीकार्य हुने अध्यक्ष ढकालले बताउनुभयो ।
संविधान कार्यान्वयनमा सङ्कट देखिएकाले यो सङ्कट समाधान गर्न प्रधानमन्त्री आफैँ अग्रसर हुनुपर्ने बताउँदै उहाँले सबैदलले साथ दिनुपर्ने धारणा राख्नुभयो ।

‘अब सर्वदलीय बैठकबाट देशलाई निकास दिनुपर्छ’ उहाँले भन्नुभयो । मंगलवार परिवार दलको केन्द्रिय समितिको बैठकले थप विषयमा निर्णय लिने र सोही अनुसार पार्टी अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, ‘साना ठूला सबै दलसँग छलफल गरेर देशको राजनीतिक समस्या हल गर्न पहल गछौँ ।’

संघियता कार्यन्वयन सङ्कटमा परेकाले संविधान निर्माणमा योगदान गरेका प्रधानमन्त्री केपी वलीले संरक्षणमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । निर्वाचन भएको खण्डमा परिवार दल त्यसको तयारीमा लाग्ने बताउँदै उहाँले निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार