नेपाल भाषा चलचित्र ‘लुँयागु तक्मा’ घोषणा

काठमाडौं,
मंसिर ३० ।

नेपाल भाषामा निर्माण हुने चलचित्र ‘लुँयागु तक्मा’को राजधानीमा आयोजित एक समारोहकाबीच शुभमुर्हत गरिएको छ । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा अभिनेता नीर शाहको विशेष उपस्थितिमा चलचित्रको घोषणासँगै मुर्हत गरिएको हो ।

सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने चलचित्रलाई गोपालकाजी कायस्थले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा रुमन जोशी छन् । देवेन्द्र महर्जनको छायाँकन र सविन शाक्यको सहनिर्देशन रहने चलचित्र सामाजिक विषयवस्तुमा केन्द्रित रहने जनाइएको छ ।
चलचित्रमा विशेषतः एक पिताले आफ्ना सन्तानको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीलाई भने माया बढी हुने विषयलाई मार्मिक ढङ्गले प्रस्तुत गरिने निर्देशक तुलाधरले बताए ।

चलचित्रमा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु लगायत नवकलाकारहरु रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।

नेपालभाषाको सङ्गीत तथा कला क्षेत्रमा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वा वाको स्वास्थ्य समस्यामा सहयोग गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको हो । मानकृष्ण नै चलचित्रमा लिड अभिनयमा रहनेछन् । विशेषतः भजन सङ्गीतमा रुचि राख्ने मानकृष्णका नेपालभाषाका धेरै लोकप्रिय गीतहरू छन् भने नेपालभाषाको टेलिसिरियल ‘ख्वताबजि’मा ‘देपां बिइला…’ थेगो सहितको उनको अभिनय धेरैले रुचाएको अभिनयमा पर्छ ।

नेपालभाषाको सङ्गीत र कला क्षेत्रको उत्थानका लागि आफ्नो जीवन समर्पण गर्दै आएका कलाकार वा वालाई पछिल्लो समय देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै वा वाको स्वास्थ्य संरक्षण कोषको लागी सुखावती मल्टी प्रोडक्सनले यो चलचित्र निर्माणको तयारी गरेको निर्माता कायस्थले बताए । चलचित्र माघपछि फ्लोरमा जानेछ । झण्डै ५० लाख बजेटको चलचित्र निर्माण पश्चत च्यारेटी र विभिन्न शोबाट सङ्कलित रकम मानकृष्णको स्वास्थ्य संरक्षण कोषमा जम्मा गरिने बताइएको छ ।                     तस्वीरः बिके जलमी

यसमा तपाइको मत

अन्य समाचार