✍️ नवीन मनोहर
रामेछाप,
मंसिर १३ ।
जीवन कहिले रेखा
कहिले वृत्त
कहिले त्रिभुज
र कहिले मिश्रित कोण
सिम्फोनी प्रेमको परिवृत्तमा रमाएर
म हायल कायल भएको छु
ईष्ट देवताहरू भाकेर
क्लान्त भई गलित गलित थाकेर
जीवनका खरबारीमा
कैँयौं ग्वालाहरूले गाई चराएको देखेको छु
कैँयौं कुमालेहरूले माटाका बर्तनहरू पनि बनाएको देखेको छु,
तृप्त भएर
परिपूर्ण भएर पोखिँदा त मजै हुँदो हो जीवनमा
तर खाली खाली भएर पोखिनुको
कुनै तुक देखिएन
कुनै तमसुक पनि भेटिएन,
कोण प्रतिकोणमा
ए ! रेखाहरू भन
तिमीहरू नै भन
मिश्रित कोणको मजा कहिले र कहाँबाट हुन्छ हँ ?






