✍️डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर ११ ।
अहिले सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झगडा पुनः बाहिर छताछुल्ल भएर पोखिएको छ । अहिलेको विवादको मूल जरो भनेको नेताहरूको सत्तामोह र व्यक्तिगत स्वार्थ हो । यसमा अरु केही छैन । नेकपामा नीतिगत विषयमा बहस हुन सकेको छैन । सत्ता र भागबण्डाको किचलोले नेकपा गम्भिर सङ्कटमा फसेको छ । देशको आर्थिक विकासका विषयमा गम्भीर चिन्तन हुनुपर्ने थियो । त्यो बिषमा कुनै चासो नै छैन । सत्तारुढ दलले चासो राख्नुपर्ने थियो तर राखेको छैन । नेताहरू सत्तास्वार्थ बाहेक अरु सोच्नै भ्याएनन् । यो नै समस्या हो ।
अहिले कोरोना महामारीले देशको आर्थिक अवस्था नाजुक छ । महामारीबाट देश विदेशमा रहेका लाखौँ नेपाली प्रभावित भएका छन् । सरकार पहिला अत्तालियो र जनताले आफ्नो उपचार खर्च आफैँ बेहोर्न उर्दि दियो । त्यसको सर्वत्र आलोचना भएपछि सरकारले नै बेहोर्ने भयो । सत्तारुढ दलका नेता चिन्तनशील र जिम्मेवार हुन सकेनन् । राष्ट्रसामु यतिका धेरै महत्वपूर्ण नीतिगत प्रश्न हुँदाहुँदै नेकपाभित्र विवाद हुनु भनेको जनमतको अपमान हो ।
सत्तारुढ दलले यस्ता निकृष्ट झगडा छोडेर देश र जनताका जल्दाबल्दा समस्यामा छलफल केन्द्रित गर्नुपर्छ । सरकार गठन भएको पनि झन्डै तीन वर्ष हुन लाग्यो । सरकारले जनअपेक्षा अनुसार खासै काम गर्न सकेको छैन । आफ्नै दललाई समेत समर्थनमा लिन सकिरहेको छैन । सरकार अन्धकारमा फस्दै गएको छ । यो राम्रो कुरा हैन । बहुमतको सरकार, नेकपाले नेतृत्व गरेको सरकार, नयाँ व्यवस्था सञ्चालन गरेको सरकार हो यो । तर, पनि जनताले सोचे बमोजिमको काम हुन सकेको छैन । नेकपाको विवाद नौलो होइन । चुनावी गठबन्धनहुँदै एकीकरणको दिशामा गएर नेपाल कम्युनिस्ट पार्टी जन्मिएको हो । नेकपा भावनात्मक रुपमा अझै एकता हुन सकेको छैन ।
नेकपाभित्रको कलह बढ्दै गएको छ । जुन कारणले एकतामा नै सङ्कट परेको छ । एकअर्काप्रति सामाजिक सञ्जालमार्फत प्रहार गर्ने क्रम जारी छ । दुई अध्यक्षबीचको दूरी बढेको छ । अध्यक्षहरूको विवाद भनेको लेनदेनको बिवाद हो । कार्यकारी भनिएका अध्यक्ष बैठक बोलाउने तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष बैठक परपर सार्ने तथा सरकार र पार्टी दुवै एकल निर्णयमा चलाउने कुराबाट समस्या बढेको छ । दुई अध्यक्षका अलगअलग प्रतिवेदन सचिवालय बैठकमा पेस हुने अवस्था सिर्जना भएपछि सवैको ध्यान यति बेला नेकपातिर केन्द्रित छ ।
नेकपाका नेताहरू पार्टी एकताप्रति दृढ रहेको र पार्टी फुट्न नदिने बताउँदै आएका छन् तर गुटगत भेला र भेटघाट भइरहेका छन । आफ्नै नेताका कार्यक्रममा समेत अवरोध सिर्जना भएका समाचार बाहिर आएका छन् । यसले नेकपाको कलह सामान्य रूपमा नटुंगिने अनुमान गर्न सकिन्छ । नेकपाभित्रको ध्रुवीकरण यतिखेर उत्कर्षमा छ । पछिल्लो समय घटनाक्रमहरू हेर्दा, सत्तारूढ नेकपाको आन्तरिक विवादका कारण मुलुकको राजनीति पुनः अस्थिरतातर्फ उन्मुख हुने त होइन भन्ने प्रश्न उठेको छ ।
नेकपाभित्रको किचलो र कलह झन्झन् चर्किंंदै आएको देखिन्छ यसले नेपाली जनतालाई चिन्तित तुल्याएको छ । ओली समूह अराजकता र निषेधको राजनीति गर्न खोजेको आरोप नेपाल दाहाल पक्षले लगाएको छ । नेपाल दाहाल पक्षले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने बताउदै आएका छन् । पार्टी फुटोस् भन्ने चाहना कसैको छैन ।






