काठमाडौं,
मंसिर ६ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रमबीच जानकारी दिइएको हो ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् ।
चलचित्रकी नायिका चयन भने बाँकी रहेको निर्माणपक्षले जनाएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रवी नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।
‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमा निर्माण युनीटले बर्थ डे केक पनि काटेको थियो ।
चलचित्रमा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना, समस्यासमेत समाबेश हुने बताइएको छ । चलचित्रको पटकथा र सम्वाद केदार भुसालले तयार पारेका हुन् ।
आफूलाई चलचित्रको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने,‘यो चलचित्रको स्क्रिप्ट र युनीट निकै मन प¥यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’ कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका चलचित्रभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको चलचित्र निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए । ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको चलचित्र निर्माण गर्ने प्रयास छ,’ उनले भने, ‘त्यसकारण मैले यसपाली निर्देशन गरिन ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ निर्माणमा लागेको सुनाए । माघ ४ गतेदेखि सुटिङ थालिने चलचित्रको निर्मातामा राजकुमार भट्ट छन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न चलचित्र निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्म हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हल खुल्ने बिश्वास ब्यक्त गरे ।
०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको सङ्गीत रहने छ । चलचित्र काठमाडौ र पोखरामा छायाँकन गरिने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुँवा यो नशा’, ‘कायरा’लगायतका चलचित्र निर्माण गरिसकेको छ ।






