ट्राफिक प्रहरी काभ्रेद्वारा रकम फिर्ता अभियान

बनेपा,
मंसिर ५ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ट्राफिक प्रहरीद्वारा घुस वापत दिइएको रकम फिर्ता अभियान सञ्चालन गरेको छ । सवारी नियम उल्लंघन गरे वापतको जरिवाना नलिई केही रकम घुस दिएर कसुरबाट उम्कन खोज्ने सवारी चालकले घुस वापत दिएको रकम फिर्ता गर्ने अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले बताए । उनका अनुसार ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त अभियानमा घुस तथा आर्थिक प्रलोभन देखाउने सवारी चालकलाई कार्वाही गरेको थियो ।

अभियान सुरु भएदेखि आजसम्म ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने २० सवारी साधनलाई कार्वाही गरिएको प्रमुख तामाङले जानकारी दिए । २० सवारीको घुस रकम फिर्ता गराई कसुर अनुसारको जरिवाना गरेको उनले बताए । अब आइन्दा फेरि पनि आर्थिक प्रलोभन देखाउन आएमा उक्त सवारी चालक र सवारी धनी लाई मुद्दासमेत चलाइने प्रमुखले जानकारी दिए ।

घुस तथा आर्थिक प्रलोभन देखाउने कार्य कानुन विपरित भएको र यसको रोकथामका लागि ट्राफिक प्रहरीले अभियान स्वरुप कार्यक्रम सञ्चालन गरेको हो,’ प्रमुख तामाङले भने, ‘ट्राफिक प्रहरीले अहिलेलाई पहिलो पटक भएकाले सवारी चालक र सवारी धनीलाई सम्झाई बुझाई गरेर सो कार्य नगर्नका लागि हस्ताक्षर गराइएको छ । यस्तो कार्य फेरि पनि दोहोरिएमा कानुन अुनसार कार्वाही गरिनेछ ।’ अस्थायी ट्राफिक प्रहरी पोष्ट खावा, काभ्रेभञ्ज्याङ, पाँचखाल, दोलालघाट, भकुण्डेबेशी र जिल्ला ट्राफिक कार्यालयमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीलाई घुस खुवाउने प्रयास भएको र घुस खुवाउन खोज्ने सवारी साधनका चालकलाई घु्स वापतको रकम फिर्ता गराई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार सवारी चालक एवम् सवारी धनीले ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने, महिनावारी तलब उपलब्ध गराउने जस्ता कार्यको प्रयास भएको थियो । उक्त कार्यमा अधिकांश ट्रिपर, मिनी ट्रिपर तथा मालवहाक सवारी साधनका चालक एवम् सवारी धनी संलग्न भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार