कैलाली,
मंसिर ४ ।
कैलालीमा हिन्दूराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै बृहत् मोटरसाइकल र्याली निकालिएको छ ।देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्याली निकालेको हो ।
बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा र्यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो ।
हिन्दूराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत् प्रदर्शन गरिएको आयोजकले बताएको छ ।
धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा १०० ओटा चारपाङ्ग्रे सवारीसाधनसहित तीन हजार मोटरसाइकलमा प्रदर्शनकारी सहभागी भएको समाजका प्रवक्ता अशोक मल्लले बताउनुभयो ।
पार्टीको समर्थन र विरोधमा नभइ स्वतन्त्र देशभक्त युवाहरूको सहभागितामा राष्ट्र बचाउन अभियान चलाइएको संयोजक रवीन्द्र कार्कीले बताउनुभयो ।






