काठमाडौं,
कार्तिक २३ ।
कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना सङ्क्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । ती मध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
योसाता नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ती मध्ये एक लाख ५५ हजार ११४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।
१० हजार किट स्वास्थ्य सामग्री
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो ।






