सानो गल्ती भयो भने लाखौंको सामग्री बिग्रन सक्छ – ग्राफिक्स डिजाइनर हरि किशोर यादव

ग्राफिक्स डिजाइनरका रुपमा आफ्ना क्रियसन प्रस्तुत गर्दै आइरहनुभएको छ हरि किशोर यादवले । उहाँका डिजाइनले चर्चा पाउँदै आइरहेका छन् । डिजाइनसम्बन्धी हरेक समय नयाँनयाँ कुरा खोजिरहने हरिले आज नयाँ उचाई प्राप्त गर्न सफल हुनुभएको छ । वर्तमान समयमा ग्राफिक्स डिजाइनमा अग्रपङ्क्तिमा रहँदै आउनुभएका हरि बुकको म्याटर सँगसँगै त्यसलाई कभरमार्फत् न्याय दिन सक्नु चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । आफूलाई अब्बल डिजाइनरका रुपमा यो क्षेत्रमा उचाई कायम गर्नुभएका यादवसँग मिलापका श्रद्धा भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

यतिबेला के गर्दै हुनुहुन्छ ?
तपाईंलाई थाहा छ, यतिबेला कोरोना सङ्क्रमणका कारण सबैतिर ठप्प प्रायः छ । तर पनि केही कामहरु भने भइरहेका छन् । म पनि आफ्ना डिजाइनका कामहरुमा नै व्यस्त रहेको छु यतिबेला भन्नुपर्ला । फेरि यो बेला समस्यामा रहेका व्यक्तिहरुलाई थोरै भए पनि सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हुन आउँछ । त्यसमा पनि थोरै भए पनि अग्रसर भएको छु । यस्तै केही मेरा व्यक्तिगत काम, केही सामाजिक काम र केही व्यावसायिक काममा नै आफूलाई व्यस्त बनाउँदै आइरहेको छु भन्नुपर्ला ।

ग्राफिक्स डिजाइनको क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि केही फरक काम गरौँ भन्ने हुन्थ्यो मेरो मनामा । त्यही सानैदेखिको हुटहुटीले मलाई यो क्षेत्रमा ल्यायो । यसका लागि मैले २०५२/०५३ सालतिर एसएलसीपछि यसमा संलग्न भए बेसिक कोर्षमार्फत् । सिक्दै जाँदा मैले अझ केही गरौँ भन्ने लाग्यो । मैले जति सिक्दै गएँ, त्यति नै मलाई अझ रूचि बढ्न थाल्यो । नयाँ-नयाँ कुराहरु सिक्ने क्रममा यसलाई अझ यसरी प्रस्तुत गर्न पाए राम्रो हुन्थ्यो भन्ने लाग्यो र गर्दै गए । आफैँले नयाँ–नयाँ कुराहरु खोज्ने क्रममा लागे । आफ्नो रूचिको क्षेत्र भएकाले म दिन–रात यसैमा समर्पित हुँदै गएँ ।

कस्तो पाउनुभयो यो क्षेत्र ?
आफूले रोजेको चाहेको क्षेत्रमा आएँ । आजको दिनसम्म चुम्नका लागि मैले कठोर मिहिनेत र सङ्घर्ष गरेको छु । विगतको त्यो मिहिनेत र सङ्घर्षले आज एउटा मुकाम प्राप्त गर्न सफल भएको ठान्छु ।

पहिलो सफलता प्राप्त हुँदा कस्तो अनुभूति भयो ?
जुनसुकै काम होस् मन लगाएर गर्ने स्वभाव थियो र छ । काम गर्न थालेको सुरूतिर नै मैले गरेको कक्षा दसको विज्ञानको पुस्तक यति धेरै मन पराइयो कि मलाई अझ हौसला बढ्दै गयो । त्यो पुस्तकका धेरै संस्करणहरु प्रकाशनमा आए । सुरूसुरूको कामले नै मलाई यति धेरै उत्साहित बनायो कि म अझै यसैमा लीन हुँदै गए र काम गर्दैै गए । सबैले मनपराइदिनु भयो, मेरो हौसला बढ्दै गयो ।

यस्तै म धेरै प्रकाशन हाउससँग जोडिएर काम गरेँ । अहिलेसम्म आउँदा सयौँ पुस्तक डिजाइन गरे हुँला । त्यस्तै, अन्य डिजाइन पनि सयौँ पुगेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका पछिल्ला संस्करणका कभर डिजाइन पनि मैले गरेको छु । यस्तै, सोसाइटी अफ अङ्ग्रेजी राइटरका पनि थुप्रै डिजाइन गरेको छु । सुरू-सुरूमा यति भन्ने हुन्थ्यो, अहिले त सङ्ख्या नै अनगिन्ती भइसकेको छ । फर्केर हेर्दा एकखालको आफैँलाई गौरव लाग्छ । हिजोको त्यो कठीन दिनबाट आज यहाँसम्म आएँ भन्ने लाग्छ ।

डिजाइनिङ के हो त ?
डिजाइनिङ भनेको कला र प्रविधिको संयोजन हो । डिजाइनिङ सुन्दर बनाउने कला हो । कागजमा आउने अक्षरलाई वाचाल बनाउने कर्म हो ।

यो पेशमा के-कस्ता चुनौती रहेको पाउनुहुन्छ ?
उत्कृष्ट प्रदान गर्नु हरेक पेशाका चुनौती हुन् भन्ने लाग्छ मलाई । लटरपटर गर्न त जहाँ पनि सजिलो छ तर उत्कृष्टता प्रदान गर्नु नै मुख्य कुरा हो भन्ने लाग्छ । यो पेशमा त झन् हरेक पटक नयाँ पस्किन सक्नुपर्छ । त्यस हिसाबले चुनौतीपूर्ण छ । बुकको म्याटर सँगसँगै त्यसलाई कभरमार्फत् न्याय दिन सक्नु चुनौतीपूर्ण हुन्छ । नयाँ–नयाँ क्रियशन दिन सक्नुपर्छ हरेकपटक । राम्रो डिजाइनिङ गर्नु चानचुने काम भने होइन । सानो गल्ती भयो भने लाखौंको सामग्री बिग्रन सक्छ । केन्द्रिकृत भएर गरिने काम हो यो ।

ग्राफिक डिजाइनर भनेकोचाहिँ ?
ग्राफिक डिजाइनर भनेको डिजाइन पेशेवरहरु हुन्, जसले दृश्य अवधारणाहरु सिर्जना गर्छन्, कम्प्युटर सफ्टवेयरको प्रयोग गरेर वा हातले विचारहरु सञ्चार गर्न जुन प्रेरणा, सूचना, साथै उपभोक्ताहरुलाई मोहित पार्दछन्, तिनीहरुलाई ग्राफिक कलाकार वा सञ्चार डिजाइनरको रुपमा पनि चिनिने गर्छ ।

सारमा, ग्राफिक डिजाइन भनेको विज्ञापन, म्यागजिन वा पुस्तकहरुमा पाठ र चित्रहरु संयोजन गर्ने कला वा कौशल नै हो, तपाईंले सोधेजस्तै छोटोमा भन्नुपर्दा र स्पष्ट पार्नुपर्दा ।

(मिलापको कार्तिक अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार