बडादशैँको आज सातौ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं,
कार्तिक ७ ।

नेपालीहरूको महान पर्व बडा दशैँको आज सातौं दिन । आज देशभर घरघरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनादेखि नै नवरात्रि सुरु भए पनि फूलपातिदेखि बडा दशैँलाई विशेष रुपमा पूजाआजा गरी मनाउने गरिन्छ । देवी कालरात्रीले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरूको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ ।

यसै दिन नवदूर्गा पूजास्थलमा फूलपाती भित्र्याइने भएकाले महासप्तमीलाई फूलपातीका नामले बुझ्ने गरिन्छ । सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्री स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण हुनुभएकी, तीन नेत्र अनि चारहात हुनुभएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोक्नसभएकी घोरमुद्रा तथा अभय मुद्रा धारण गर्नुभएकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गर्नुभएको हो ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रीको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

यस वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई नियन्त्रण र रोकथामका लागि देवीका मन्दिरहरू शक्तिपीठमा नियमित पूजाबाहेक अन्य पूर्जा अर्चना बन्द गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार