काठमाडौं उपत्याकामा ३१ सय ७ सहित बुधबार थपिए ५७ सय ४३ संक्रमित

काठमाडौं,
कार्तिक ५ ।

देशभर कोरोना भाइरस (कोभिड-१९)को महामारी झन् झन् बढ्दो छ । दिनप्रतिदिन यसको संकट बढ्दो छ । राजधानी काठमाडौंमा त झन भयावह अवस्था छ कोरोना संक्रमणको । अस्पतालहरू कोरोना संक्रमितले भरिएका छन् । यतिवेला अस्पतालमा बेड पाउन नै मुस्किल हुन थालेको छ ।

बुधबार काठमाडौं उपत्यकामा तीन हजार १०७ सहित देशभर पाँच हजार ७४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको जानकारी दिनुभयो । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६ रहेको छ ।

थप दुई हजार ९९६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ९९ हजार ६०५ संक्रमित निको भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव सात प्रतिशत छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १३ लाख ३४ हजार ८९६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यस्तै देशभरका संस्थागत आइसोलेसन १४ हजार ६७४ जना र होम आइसोलेसनमा २९ हजार ८०० जना छन् भने चार हजार ६५ जना क्वारेन्टिनमा छन् । देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २६९ जना आईसीयूमा उपचाररत छन् । काठमाडौं उपत्यकामा तीन हजार १०७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ कोरोना संक्रमित थपिएका हुन् ।

थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७९१ पुगेको छ । यसअघि मंगलबार आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार