कास्कीमा प्रादेशिक स्वास्थ्य सम्बन्धी वार्षिक समीक्षा सुरु

पोखरा,
कार्तिक ३ ।

कास्कीको पोखरामा स्वास्थ्यको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा तथा योजना कार्यान्वयन गोष्ठी सुरु भएको हो । गोष्ठी तीन दिनसम्म चल्ने छ ।

मुलुक नयाँ संरचनामा गएपछिको प्रदेश स्तरमा सञ्चालित यो तेस्रोवार्षक समीक्षा गोष्ठी हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराको आयोजनामा सुरु भएको गोष्ठीको आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । गोष्ठीको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले समग्रस्वास्थ्यको सुधारात्मक कार्यहरूमा अधिकतम जिम्मेवार बन्न निर्देशन दिनु भएको थियो ।

गोष्ठीमा सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बढदो दरमा रहेका नसर्ने रोगहरूको न्युनिकरणको लागि सचेतना मुलक कार्यक्रमहरू अभियानको रुपमा सञ्चालनगर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोगकामाननीय उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले प्रदेशको समग्र स्वास्थ्यका सूचकहरुको तुलनात्मक विश्लेषण गर्दैस्वास्थ्य सूचकको अवस्था सुधारका लागि कार्ययोजना सहित कार्यान्वयनमा लाग्नुपर्ने बताउनु भयो ।
उक्त गोष्ठीमा प्रदेशको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा गहन छलफल गरेर भावी योजना, कार्यक्रमहरूको कार्ययोजना र स्वास्थ्य सम्बिन्ध कानुन बनाउन महत्त्वपूर्ण बन्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशको समग्र स्वास्थ्य आपूर्ति र तालिमकेन्द्र तर्फको प्रगति प्रतिबेदन निर्देशक खिमबहादुर खड्काले गर्नुभएको थियो ।

कार्यक्रमको उदघाटन सत्र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका नीति योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीको सञ्चालन र स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माको अध्यक्षतामा सञ्चालन भएको थियो ।
कार्यक्रमको प्राबिधिक सत्रमा स्वास्थ्य कार्यालयहरूको जिल्लागत प्रस्तुतिकरण, तथ्याङ्कको गुणस्तरीयता सम्बन्धमा निर्देशनालयका तथ्याङ्क अधिकृत ऋषीराम पौडेलको प्रस्तुतिकरण रहेको थियो ।

साथै ‘संघ, प्रदेश र स्थानीय तह बीच स्वास्थ्य सेवा प्रवाहमा समन्वय, सहकार्य र सहअस्तित्व विद्यमान अवस्था, अवसर, चुनौती र समाधानहरु’ भन्ने बिषयबस्तुमा केन्द्रित रहेर रूपा गाँउपालिका प्रमुख नमराज ओझा, पोखरा महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिव इन्दु घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको सहभागीता र सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद ज्ञवालीको सहजीकरणमा विज्ञ समुह छलफल भएको थियो । कार्यक्रमको प्राबिधिक सत्रको सञ्चालन निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार