काठमाडौं,
आश्विन ५ ।
‘हिमचितुवा’ उपनामले प्रख्यात कीर्तिमानी सगरमाथा आरोही आङरिता शेर्पाको निधन भएको छ । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल हुनुभएका शेर्पाको सोमबार आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो ।
सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर शेर्पा गुम्बामा राखिइको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको बताइएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो ।
सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको छ ।






