वासुदेव अधिकारीको कविता सङ्ग्रह ‘बस्तीमा आगो’ सार्वजनिक

काठमाडौं,
भाद्र २० ।

कवि वासुदेव अधिकारीको पछिल्लो कविता सङ्ग्रह ‘बस्तीमा आगो’ सार्वजनिक भएको छ । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रूपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित ‘बस्तीमा आगो’ मा लामा र छोटा गरी कुल ६१ कविता छन् । कविता सङ्ग्रहमा सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेखन गर्नसक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ ।

कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको पनि कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रूपमा अर्थ लगाइए पनि कोभिड–१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ ।

हाल नेपाल बैङ्क सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित), ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् ।

यसमा तपाइको मत

अन्य समाचार