केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
भाद्र १७ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको र हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

विभागले आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ ।

यसमा तपाइको मत

अन्य समाचार