काठमाडौं,
भाद्र १६ ।
आज इन्द्रजात्रा । प्रसिद्ध इन्द्रजात्रा काठमाडौं सहरको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आरधना गरी परम्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएको छ ।
विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोरोना भाइरस (कोभिडि-१९) का कारण यसको रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो । तर, यो वर्ष भने कुनै रौनक छैन ।
कोरोनाको महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि यो वर्षको इन्द्र जात्रा स्थगित भएको हो ।






