अष्ट्रेलियाको सबभन्दा ठूलो युद्ध स्मारक

✍️ लेखनाथ पोख्रेल

तेह्र घन्टाको हवाई यात्रा पछि संसारको उत्कृस्ट पाँच गन्तब्यमध्येको प्रथम उपाधि पाएको मेलबोर्न सहरमा जहाज अवतरण गर्दा रातिको दश बज्दै थियो । मेलबोर्नको सुन्दरतम पक्ष हो, क्षणक्षणमा बदलिने यहाँको चञ्चले मौसम । कुन बेला घाम लाग्ने हो ? कुन बेला पानी बर्सिने हो ? कुन बेला सिरेटो चलेर स्वेटर निकाल्नु पर्ने हो थाहा हुन्न ।

अर्को दिनको मिर्मिरे बिहानी । चिसो सिरेटो चलीराखेको बाल्कोनीमा उभिएर चारैतिर आँखा घुमाए । छेउछाउमा खपडा र टिनले छाएका घरहरुमात्र देख्दा भने दृस्टीभ्रम भएर रौतहट या सर्लाहीको कुनै गाउँमा पो आइपुगेछु कि क्या हो भन्ने लाग्यो । टाउको झट्कारेर आकासतिर आँखा उठाएँ । खुला आकासमा नजिकै बडेमानको उज्यालो चन्द्रमा देख्दा दङ्ग परे । छयाङ्ग उज्यालो भएसँगै सडकको दुवै किनारमा उभिएका हरियालीले झकिझकाउ ठूलठूला रुखमा रातभरी बासबसेर ब्युझियेका चराहरूको अनौठो आवाज सुनिन थाल्यो । अनौठो यस कारणले कि, ती चराहरुको स्वरमा हाम्रोतिर सुनिने जस्तो मधुरो चिर्बिर…चिर्बिर थिएन । तिनीहरुको आवाज काउँ…काउँ…गरेर कराउने लेकाली कागको जस्तो मोटो र खस्रो थियो ।

मर्निङ वाकको नियमित कार्य सकेर कोठामा पुग्दा बिहानको सात बज्दै थियो । आमा भनिने जातनै अनौठो । बर्षौंपछि छोरा बुहारी भेट्न पाएकी मेरी श्रीमती, ‘बाबुको हाथ समातेर अब कुनै कुराको डर छैन भन्दै निस्फिक्री भएर आमाको काखमा सुतेको बच्चा जस्तो निदाई राखेको देख्दा रमाइलो लाग्यो । अरुलाई खुशी र आनन्दित भएको देख्न पाउनु भनेको एउटा अद्भुत अनुभुति हो ।

अस्ट्रेलियाको गोल्ड रस (Gold Rush) को समयमा बिभिन्न देशबाट यहाँ आइपुगेका अलग जातजाति र समुदायका मानिसले आ-आफ्ना रुचि अनुसार बसाएका बस्तीहरु बिकशित हुँदैगएर बनेको सहर हो मेलबोर्न । त्यो बेला बनेका सम्पूर्ण घरहरूलाई यथास्थितिमा सम्रक्षणगरी राख्नुपर्ने त्यहाँको सरकारको बाध्यकारी नीति रहेकोहुँदा ती घरहरुलाई राष्ट्रिय सम्पदाको दर्जा प्राप्त छ ।

जमिनमाथि सडक र ट्रामको सञ्जाल । जमिनमुनिबाट मेट्रोको लुपले जोडिएको सुन्दर र सफा सहर हो मेलबोर्न । सफा र चौडा सडक । सहर भित्र निरन्तर घुमीरहने बस र ट्राम । पर्यटकले भरिभराउ फुटपाथ र रेस्टुरेन्ट । ठाउँ ठाउँमा बनेका ठुल्ठूला हरिया पार्क । बिभिन्न किसिमका सङ्ग्रहालयहरू । सम्रक्षणगरी राखिएका सहर भित्रका पुराना भबनहरूसँगै बनेको दशतला सुनलेमोरिएको ‘युरेका टावर’लगायतका गगनचुम्बी नयाँ अट्टालिकाहरू । ‘पोर्ट फिलिप बे’ (Port Phillip Bay) को सुन्दर ‘सेन्ट किल्डा समुद्रीतट’ (Saint Kilda Beach) । सप्ताहान्तको दिन, ‘फ्लिडर्स‘ (Flinders) मा रहेको टुरिस्ट सेन्टरको आँगनमा हुने साङ्गीतिक कार्यक्रम हेर्ने पर्यटकको घुइँचो । मेलबोर्न सेन्ट्रलको मेट्रो स्टेशन भित्रको सपिङ्गमल । २७ बिघा क्षेत्रफलमा फैलिएर बसेको, सन् १८६० देखि एउटै छाना मुनि स्थानीय उत्पादनका सामाग्रीलगायत संसारका कुना-कुना बाट आएका महङ्गा सामानहरू पाइने मेलबोर्नको सबभन्दा ठुलो एकीकृत बजार ‘क्विन विक्टोरिया मार्केट’ (Queen Victoria Market) ।

ठुल्ठूला तिनोओटा चिडियाघर । बिभिन्न जातजाति र प्रजातिका रूख बिरुवाले झकिझकाउ ठुल्ठूला दुइटा ‘बोटानिकल गार्डेन । बीसलाख लिटर पानीको उपयोग गर्दै बनेको पाँचतले ‘SeaAquarium’। जहाँ संसारका बिभिन्न ठाउँमा पाइने ‘पिन्गुइन, समुद्री घोडा, डोल्फीन, सार्क, छाताको आकारभएका ठुल्ठूला माछालगायतका अनगिन्ती प्रकारका समुद्री जनावरहरु राखिएका छन् । ठुलो रेसकोर्श, पोलो ग्राउण्ड र ठुल्ठुला स्पोर्ट स्टेडियमहरू भएको मेलबोर्न अस्ट्रेलियामा खेलिने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबैखाले खेलको प्रमुख थलो भएको कारण स्पोर्टसिटीको नामले चिनिन्छ । क्यासिनोको अखाडा पनि हो मेलबोर्न । रमाइलो पक्ष के छ भने जुवाको खेललाई यहाँ गैरकानुनी मानिदैन न त सरकारी ट्याक्स नै लाग्छ । दिन बिताउने साधनजस्तोगरी ‘पोकी’ (Poky) खेल्नु यहाँ सामान्य कुरा हो । ‘पोकी’ खेल्ने ठाउँमा रिटायर भएका बृद्धहरुको बाक्लै उपस्थिति हुनेगर्छ ।

यारा नदीको छेउमा बनेको छ सुन्दर ‘स्राइन अफ रेमेम्बरेंस (Shrine of Rememberence) । १६०० बर्गमिटर क्षेत्रफलमा बनेको ‘स्राइन अफ रेमेम्बरेंस’ अष्ट्रेलियाको सबभन्दा ठूलो युद्ध स्मारक हो । पहिलो बिस्वयुद्धमा मारिएका अष्ट्रेलियाई नागरिकको सम्मानस्वरूप सेतो संगमर्मरको चौतारोमा बनेको यहाँको स्मारक कुशल सिल्पीको उदाहरणीय नमुना हो । गाडीले खचाखच भरिएको पार्किङ्ग । इरानी कार्पेट बिछ्याएको भानपर्नेगरि बनेका हरिया चौरहरु । रङ्गीचङ्गी फूलबारी । थरिथरिका रुखबिरुवाले झकिझकाउ बगैंचा । पर्यटकको बाक्लो उपस्थितिले यहाँ आइपुग्ने जो कोहीलाई रोमाञ्चित तुल्याउछ । बोल्दा बोल्दै, भयो अब नबोलौं जस्तोगरि उभिएका, प्रेम र आनन्दले भरिएका जीबन्त देखिन्छन यहाँका प्रत्येक प्रतिमा । बास्तुकारको प्रतिभा र शिल्पकारको सिपको समागमको अद्भुत प्रदर्शनले मन्त्रमुग्ध बनाउछ । यो ठाउँको सुन्दरता नियाल्न र बर्णनको चाहना राख्ने सुन्दरताका पारखीकोलागि त्यहाँ पुग्ने सही समय हो बिहानको झुल्किँदो घाम या त उदाउँदो चन्द्रमाको समय । यसको निर्माणमा कहीँ र कुनै कुरामा पनि कन्जुसी गरेको देखिन्न । यहाँ जे जती गरिएको छ, दिल खोलेर गरिएको छ र प्रशन्न चित्तले गरिएको छ चाहे त्यो शिल्पिको प्रदर्शन होस् चाहे सुखद पर्यावरण । ठूलो भन्ने त मान्छेको मन पो रैछ ! हो ! यहाँ आइपुगेपछि भन्न मनलाग्छ, ‘कसैको सम्मान होस् त यस्तो पो’ !

यसको शिलान्यास ११ नोभेम्बर १९२७ मा भएको थियो भने ११ नोभेम्बर १९३४ का दिन तीन लाख मानिसको बीचमा उद्घाटन भएको थियो । समतल छतमाथि चौडा खुड्किला आकारमा, ग्रेनाइट प्रयोग गरेर बनेको पिरामिड बाहिरबाट हेर्दा एथेन्समा रहेको सातौं आश्चर्यमा पर्ने मुसोलिनीको चिहान जस्तो देखिन्छ । मुद्रास्फीतिको आधारमा त्यो निर्माण कार्यको अहिलेको लागत हुन आउँछ १३.३ मिलियन पाउण्ड ।

ग्यालरीको तल्लो तलाको भित्रपट्टि ढलोटमा कुँदिएको सेनाको एक जवान र उसको छोराको मुर्ति राखिएको छ । चारोटा खम्बाको बीचमा ढलान गरेर बनाइएको होचो ठाउँमा एउटा मार्बल राखिएको छ ता कि अक्षर पढ्न चाहने जो कोहीले सम्मानस्वरूप आफ्नो टाउको निहुराउनु परोस् । त्यो मार्बलमा ”GREATER LOVE HATH NO MAN” भन्ने बाइबलको बाक्य लेखिएको छ । त्यो मार्बल यसरी राखिएको छ कि, छानामा बनेको सानो प्वालबाट पस्ने सूर्यको किरण प्रत्येक बर्ष नोवेम्बर महिनाको एघार तारिखका दिन दिउँसो ठिक एघार बजे ‘LOVE’ शब्द माथि परोस । अहिले भने सूर्यको किरण निर्धारित ठाउँमा पर्न छोडेको हुँदा, सूर्यको किरणलाइ ऐनामा पराबर्तन गराएर त्यो ठाउँसम्म पुर्‍याइने गरेको छ ।

दोस्रो बिश्वयुद्ध पछि यो स्मारकमा १२.५ मिटर अग्लो एउटा स्तम्भ र नित्य प्रज्वलित भइरहने ज्वालाको थप ब्यबस्था गरिएको छ । पहिलो र दोस्रो बिश्वयुद्द बाहेक कोरिया, बोर्निओ, मलाया, इन्डोनेसिया, भियतनाम र खाडी युद्धमा ज्यान गुमाउने अष्ट्रेलियन नागरिकको सम्मानस्वरूप उनीहरुको नामको शिलालेखसमेत राखिएको छ ।

मेलबोर्नबाट डेड घन्टाको ड्राइभपछि पुगिन्छ ‘बालाराट सोभरेन हिल’ (Ballarat sovereign hill) ।
अष्ट्रेलियालाइ संसारकै सम्पन्न देश बनाउनमा मद्दत पुर्‍याउने श्रेय बालाराटको सुनखानीलाई जान्छ । २५ एकड जमिनमा फैलिएको ‘बालाराट सोभरेन हिल’खुला आकाशमुनि रहेको एउटा जिउँदो म्युजियम हो । जसले सन् १८६० ताकाको ‘गोल्ड रस’को परिदृश्यको झझल्को दिलाउछ । आगलागीमापरि ध्वस्त भएका यहाँका ऐतिहासिक भबनहरूलाई यथास्थितिमा पुननिर्माणगरी सम्रक्षण गर्ने सरकारी निर्णय अनुसार, २९ नोभेम्बर १९७० मा आममानिसको लागि खुला गरिएको हो ‘बालाराट सोभरेन हिल’ । पर्यटकको घुइँचो लाग्ने त्यहाँको प्रवेशद्वार नजिकै रहेको छ सुनको म्युजियम । जहाँ प्रदर्शन र बिक्रिको लागि राखिएका छन बिभिन्न डिजाइनका थुप्रै सुनका गहनाहरु ।
त्योभन्दा केहीपर बग्दै गरेको एउटा सानो खोल्सा । खोल्साको दुवै किनारमा गहुँको छ्वालीको ह्याट लगाएर, सानु नाङ्ग्लोमा केही कुरा छानीराखेका देखिने थुप्रै अनुहारहरु । नजिकै पुगेर हेर्दा थाहा भयो उनीहरु त्यो खोल्साको पानीसँग मिस्सिएर आएको बालुवामा भेटिने सुन चाल्दैथिए । त्यहाँको त्यो दृश्य देख्दा लाग्यो, सायद यस्तै हुन्थ्यो होला गोल्ड रसको समयको दृश्य पनि । बालुवा चाल्नेमध्येका केही पर्यटक थिए भने कोही पर्यटकलाई सुन केलाउन मद्दत गर्ने त्यहाँ कार्यरत कर्मचारी ।

खोल्साभन्दा माथिपट्टिको पाखामा सन् १८६०को दसकमा सुनखानी भित्र पस्नकोलागि बनेको पुरानो लिफ्ट । त्यसको केही तलतिर सुन ढुङ्गालाई पगालेर सुनको प्रसोधन गर्ने फर्नेस (Furnace) । मेनरोडको दुई छेउमा, सन् १८६० को दसकको झझल्को दिलाउने साठीओटा घरहरु भएको एउटा व्यस्त बजार । त्यहीँ बेलाकाझैंलाग्ने बिभिन्न सामानले सजिएका पसलहरु । दुइटा होटेल, एउटा थिएटर । फलाम र टिनको काम गर्ने आरन । बग्गी बनाउने वर्कसप र मैनबत्ती बनाउने कारखाना । फोटो स्टुडियो, बेकरी सप, गहनाको पसल, बैङ्क, हुलाक घर, कपाल काट्ने सेलुन, र पुस्तकालय । मुजैमुजा भएका लामा लामा फ्रक लगाएर टाउकोमा स्कार्फ बाँधेका सदियौं पुरानो पहिरनमा घुम्दै गरेका महिलाहरु । उस्तै पहिरनमा भेटिने पसलका सेल्सगर्ल र चारओटा स्कुलका बच्चाहरू । काउब्याई जिन्स लगाएर यताउताको काममा व्यस्त पुरुषहरू । सडकमा कुद्धै गरेका घोडागाडी । चुच्चो कोट, काउब्याई ह्याट र लामो बुट लगाएका बग्घी चालक । मेनरोडको पछिल्तिर बनेका केही कटेजहरु । केही पर बनेको घोडाको तबेला । यस्तो लाग्छ, हलिउडको कुनै काउब्याई फिल्मको सुटिङ्गको लागि तयार पारिएको अस्थाई दृश्य हो यो ।

यसमा तपाइको मत

अन्य समाचार