✍️ डा. डीआर उपाध्याय
जिन्दगी भरी साथ दिन्छु भन्नेको भिडै थियो
थिएन थाहा त्यो नाटकको संवाद मात्रै थियो
एक एक गरी सबै आफ्नो स्वार्थ तर्फ मोडिए
अन्तिम मुकाममा एक्लै पुग्नु नियती थियो ।।
रोकियो कर्मगती लकडाउन निषेधाज्ञाको तगारोले,
ढाल्दैछ विश्वको अर्थतन्त्र विनाशको बन्चरोले,
जीवनमोह बेरोजगारी भोकमरीको डर, अर्कोतिर
सबै निसास्सिंदै कोरोनाले पारिदिएको अप्ठेरोले ।।
एक्कासि जागेको एकान्तप्रेमबाट आफैँ झस्किएँ
आफन्तबीच कतै एकथरी कहीँ अर्कै कहलिएँ
रङ्गीन भई रमाएर बाँच्ने अठोट थियो मेरो
जब पर्यो भारी दिलदिमागमा यसरी बदलिएँ ।।
आमा बाबालाई दुई अक्षरमा सीमित गर्न मिल्दैन
यिनको वात्सल्यमयी काखसँग अरूको तुलना हुँदैन
ढुक्क भएर निदाउने विश्वासी काख यिनको बाहेक
अन्य कसैको काखमा यस्तो सुखशान्ती पाइदैन ।।
सुसम्पन्न नेपाली अमेरिका, अस्ट्रेलिया, युरोपियन युनियनमा
छचल्काउँछन पिताभक्ती पिताको मुख हेर्ने दिनमा
फेसबुक ट्विटर मेसेन्जरमा कयौं चर्चित बन्छन
विडम्बना अधिकांस पिता नेपालमा बाँचछन दुर्दिनमा ।।






