काठमाडौं,
भाद्र ५ ।
समुदायमा कलाको अपरिहार्यतालाई आत्मबोध गरी गरिएका अभ्यासका बारेमा संवाद गरिएको छ । काठमाडौं विश्वविद्यालय केयु आर्ट एण्ड डिजाइन विभागका पूर्वविद्यार्थीको अल्मुनाइ संस्था ओदानको सातौं शृङ्खलामा ‘समुदायमा कलाको सहभागितामूलक अभ्यास र पर्यावरण’ का बहस गरिएको हो । बिहीबार गरिएको उक्त बहसमा कलाकार सुजन डंगोल, कैलाश के श्रेष्ठ र राजन श्रेष्ठ सहभागी भएका हुनुभएको थियो ।
भर्चुअल माध्यमबाट गरिएको उक्त संवादमा कलाकार सुजन डंगोलले समुदायका कलालाई संरक्षण गर्नका लागि यो अभ्यास निकै प्रभावकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समुदायलाई नै कलाका गतिविधिमा सहभागी गराउँदै बनाइएका कलाले समाजमा गहिरो प्रभाव पारेको हामीले पाएका छौं ।’ काठमाडौं विश्वविद्यालयबाट कला अध्ययन गरेका कलाकार डंगोलले नेपाल तथा विश्वका विभिन्न स्थानमा भएका थुप्रै कला प्रदर्शनी, आवासीय कला कार्यशाला र सामुदायिक कला परियोजनामा भाग लिनुभएको छ । अहिले उहाँले काठमाडौंबाट बिस्थापित मूलनिवासी र काठमाडौंमा सहरी शरणार्थीहरूसँग दीर्घकालीन परियोजनाका रूपमा काम गरिरहनु भएको छ । उहाँले भन्नुभयो, ‘कला वस्तु जसरी निर्माण गर्न सकिदैंन, तर यो त एक साँच्चो उपहारका रुपमा मानवदेखि मानवसम्म सिक्दै, आदानप्रदान हुँदै आउँदछ । यसलाई समुदायको सम्पत्तिका रुपमा हामीले विकास, संरक्षण तथा प्रवद्र्धन गर्नुपर्दछ ।’
सो भर्चुअल कार्यक्रममा अर्का कलाकार कैलाश के श्रेष्ठले समुदायलाई कलाप्रति जागरुक बनाउनका लागि पनि यो कला अभ्यासको जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले समाजलाई कलामय बनाउनका निमित पनि कलाकारलाई समुदायसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कलाप्रति जनविश्वास जगाउन पनि कलाकारले समुदायका विषयलाई समुदायमा प्रस्तुत गर्नुपर्दछ । तब मात्रै यसले आमरूप लिनसक्दछ ।’ उहाँले पर्यावरणलाई ख्याल गर्दै कलाकारले समुदायमा कलालाई जोड्न मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयबाट कला शिक्षा हासिल गर्नुभएका श्रेष्ठ ओदानको अध्यक्ष तथा आर्टुडियोका संस्थापक हुनुहुन्छ । कैलाशले नेपालको सामाजिक तथा राजनीतिक वास्तविकतालाई कलामार्फत अभिव्यक्त गर्दै आउनुभएको छ । उहाँले कलाका ती विषयमा सामाजिक तथा राजनीतिक वास्तविकतालाई तिनका व्यक्तिगत एवं अन्तरसम्बन्धित कार्यमाथि आलोचनात्मक ढङ्गले प्रश्न उठाउँदै आउनुभएको छ । श्रेष्ठले सन् २०१० मा स्थापना गरेकोे आर्टुडियोले समसामयिक कलाको प्रयोग, कला अभ्यास, पहल र दृश्यकला शिक्षालाई ग्रामीण तहका समुदाय, सार्वजनिक स्थल तथा आमदर्शकका बीचमा पु¥याउने काम गर्दछ । २०७२ सालमा आएको विनाशकारी भूकम्पको कारण उहाँले आफ्नो जन्म स्थल गैरिमुदीमा प्राण सामुदायिक कला केन्द्र स्थापना गर्नुभएको थियो । त्यस्तै, उहाँ अस्ट्रेलियन हिमालयन फाउण्डेसनको कला पुरस्कार पाउने पहिलो नेपाली कलाकार पनि हुनुहुन्छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै कला गतिविधि तथा प्रदर्शनी गर्नुभएको छ ।
त्यस्तै, कार्यक्रममा कलाकार राजन श्रेष्ठले कलाका सबै अवयवलाई संयोजन गरेर समाजसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्गीत तथा कलालाई संयोजन गरी समुदायका विषयलाई उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले समुदाय, पर्यावरण, परम्परा तथा मौलिकतालाई ध्यान दिइ काम गर्दा प्रभावकारी हुने जिकिर गर्नुभयो ।
एथ्नोम्युजिकोलोजी अन्वेषक तथा फजस्केप सहसंस्थापक रहनुभएका राजनले मुख्यतया सङ्गीतमार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँ काठमाडौंमा आधारित पोस्ट रक आउटफिट, जिन्दावादका लागि बेसिस्ट र सहनिर्मातासमेत रहनुभएको छ । काठमाडौं विश्वविद्यालयको सङ्गीत विभागबाट एथ्नो-म्युजिकोलजीमा स्नातक गर्नुभएका श्रेष्ठले ‘फाटकाउली’को मोनिकर अन्तर्गत सङ्गीत निर्माण गर्दै आउनु भएको छ । उहाँले अनासीरको एक हिस्साका रुपमा काम गर्दै आउनु भएको छ । जुन पाकिस्तानी इलेक्ट्रोनिक सङ्गीतकार एलियन पाण्डा जुरीसँगको एक सहयोगी परियोजना हो । फजस्केप सङ्गीत, अभिलेख र अडियो भिजुअलको माध्यमबाट कथा कथनमा प्राथमिक ध्यान दिने सांस्कृतिक दस्तावेजको लागि एक मञ्च हो । श्रेष्ठ अहिले इकोज इन द भ्याली नामको ग्रासरूट सङ्गीत महोत्सवसँग पनि आबद्ध हुनुहुन्छ । कार्यक्रमलाई कलाकार तथा लेखक न्हूज तुलाधरले सहजीकरण गर्नुभएको थियो ।






