काठमाडौं,
भाद्र ५ ।
शुक्रबार ८ सय ३८ जना कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ३८ कोरोना सङ्क्रमित पुष्टि भएको बताउनु भएको छ । उहाँले शुक्रबारको नियमित मिडियो ब्रिफिङमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय ३८ कोरोना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । जसमा २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३० हजार ४ सय ८३ पुगेको छ । यस्तै थप २ सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै शुक्रबारसम्म १८ हजार २ सय १४ जना सङ्क्रमणमुक्त भएर घर फर्किको गौतमले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा शुक्रबार थप १ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमित भेटिएका छन् । काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १ सय ३२ रहेको छ । शुक्रबारसम्म देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै जम्मा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ५ सय ४६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ८६ रहेका छन् । शुक्रबारसम्म देशभर १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार थप एक महिला र १० पुरुषको मृत्यु भएको हो । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ ।






