राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं,
भदौ २ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको मंगलबार काठमाडौंको गौरीघाटस्थित निवासमै निधन भएको हो । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उहाँका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समय बिरामी रहनु भएका उहाँको १०१ वर्षको उमेरमा निधन भएको हो ।

घिमिरेले बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आउँनुभएको उहाँ बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उहाँको १४ वर्षको उमेरमा वि.सं. १९९२ सालमा प्रथम कविता ‘ज्ञानपुष्प’ शीर्षकमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँका नवमञ्जरी गौरी (शोककाव्य), घामपानी, नयाँ नेपाल, जस्ता कवितासङ्ग्र्रह, मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)लगायतका कृति रहेका छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुंगा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचना गर्नुभएको थियो ।
माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । जन्मिएको तीन वर्षमा उहाँको आमा बित्नुभयो । उहाँले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चङ्ग अध्ययन गर्नुभयो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशालाहुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नुभयो । उहाँले भारतमा बनारसबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको छ । घिमिरेको साहित्यीक काल नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म रह्यो ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि. सं २००५ सालमा गोरखापत्रमै सहसम्पादकको जागिरे पनि हुनुहुन्थ्यो । उहाँ वि. सं २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

नेपाली काव्य जगतका अक्षुण्ण र विशिष्ट साधक राष्ट्रकवि घिमिरे प्रति मिलाप परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

यसमा तपाइको मत

अन्य समाचार