काठमाडौं,
साउन ३१ ।
उपत्यकामा थप ९८ जनासहित ४ सय ६८ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ४ सय ६८ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ८० जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८ जना गरी काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालभर कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार १९ पुगेको छ ।
हालसम्म १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ सय २४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय २ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।






